सन्धिखर्क- अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय क्षेत्र नरपानीमा दुई करोड रुपैयाँभन्दा बढी खर्च गरेर निर्माण गरिएको पार्क संरक्षण र व्यवस्थापनको अभावमा अलपत्र परेको छ। प्रदेश सरकार, सन्धिखर्क नगरपालिका र स्थानीयवासीबीच आवश्यक समन्वय हुन नसक्दा महत्वपूर्ण पर्यटकीय पूर्वाधार प्रयोगविहीन बनेको हो।
सन्धिखर्क नगरपालिका-६ नरपानीमा निर्माण गरिएको ‘गंगा सरोवर पार्क’ निर्माणमा लुम्बिनी प्रदेश सरकारको प्राकृतिक स्रोत संरक्षण योजनाअन्तर्गतको समपूरक अनुदानबाट १ करोड १८ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै, सन्धिखर्क नगरपालिकाले पनि पार्कका लागि करिब एक करोड रुपैयाँ खर्च गरेको जनाएको छ।
तर, ठूलो रकम खर्च गरेर निर्माण गरिएको पार्क अहिले संरक्षणको अभावमा झाडीले ढाकिएको छ। पार्कको मुख्य गेटसमेत बन्द रहेको छ भने वरिपरि झारपात र झाडी बढेका कारण पार्कको संरचना प्रयोगविहीनजस्तै बनेको छ। पार्क हेर्न पुग्ने स्थानीय तथा बाह्य पर्यटक गेटबाटै फर्किनुपर्ने अवस्था छ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार स्थानीयस्तरमा पार्क सञ्चालनका लागि ठेक्का लगाउने विषयमा अवरोध भएपछि पार्क सञ्चालनमा समस्या भएको हो। “पार्क सञ्चालनका लागि पटक-पटक प्रयास गर्यौँ। तर स्थानीयबाट अवरोध भएका कारण पार्कको झाडीसमेत सफा गर्न सकिएको छैन,” नगरप्रमुख श्रेष्ठले भने, “अब कार्यविधि बनाएर पार्क सञ्चालन गर्ने योजनामा छौँ। यो वर्ष पार्क सञ्चालनमा ल्याएरै छाड्छौँ।”
नगरपालिकाले करिब एक करोड रुपैयाँ खर्च गरिसकेको भए पनि केही स्थानीयवासीका कारण पार्क व्यवस्थापनमा समस्या भएको नगरप्रमुख श्रेष्ठको भनाइ छ। यत्रो ठूलो रकम खर्च गरेर निर्माण गरिएको पार्क सञ्चालनमा नआएपछि स्थानीयवासीले सरकारी लगानीको औचित्यमाथि प्रश्न उठाउन थालेका छन्। “प्रयोगमै नल्याउने हो भने यत्रो रकम किन खर्च गरियो?” स्थानीयवासीको प्रश्न छ।
सुपा देउराली मन्दिरनजिकै नरपानी पिकनिक स्थलको उत्तरतर्फ रहेको गंगा सरोवर पार्क व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने सम्भावना छ। पार्कभित्र रहेको पोखरीमा डुंगा सञ्चालन गरेर आम्दानीसमेत गर्न सकिने सम्भावना रहेको रूपन्देहीबाट सुपा देउराली मन्दिर दर्शनका लागि नरपानी पुगेका नारायण ढकालले बताए।
“पार्क राम्रोसँग सञ्चालनमा ल्याउन सके पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ,” ढकालले भने, “पोखरीमा डुंगा चलाउन सके थप आकर्षण बढ्नुका साथै स्थानीय तहले आम्दानी पनि गर्न सक्छ।” नरपानी क्षेत्रमा रहेको ऐतिहासिक सुपा देउराली मन्दिर, रमणीय वातावरण र चिसो हावापानीका कारण यो क्षेत्र आन्तरिक तथा भारतीय पर्यटकको रोजाइमा पर्ने गरेको छ। नेपालका विभिन्न जिल्लाबाट ठूलो संख्यामा श्रद्धालुहरू सुपा देउराली मन्दिर दर्शनका लागि आउने गर्छन्। गर्मी छल्न तराई क्षेत्रबाट समेत पर्यटक नरपानी पुग्ने गरेका छन्।
नरपानीबाट हिमाली दृश्यसमेत अवलोकन गर्न सकिन्छ। त्यस्तै, करिब आधा घण्टाको दूरीमा पश्चिमतर्फ ऐतिहासिक खाँचीकोट दरबारसमेत रहेको छ। सुपा देउराली मन्दिर दर्शन गर्न आउने श्रद्धालु तथा पर्यटकहरू पाठापाठी चढाएर नरपानीको वनभोजस्थलमा पुग्ने र त्यहाँ खाना बनाएर खाने गर्छन्।
नरपानीमा आउने पर्यटकका लागि गंगा सरोवर पार्कलाई व्यवस्थित गरी सञ्चालनमा ल्याउन सके पर्यटकको बसाइ लम्ब्याउन सकिने स्थानीयको विश्वास छ। पर्यटकको चहलपहल बढेमा स्थानीयस्तरमा उत्पादन हुने अर्गानिक कृषि उपज, तरकारी तथा फलफूलले समेत राम्रो बजार पाउने स्थानीयहरू बताउँछन्।
शहीद मनोज-झपेन्द्र स्मृति पार्क पनि उस्तै
नरपानीमै अर्को पार्क पनि संरक्षण र व्यवस्थापनको अभावमा अलपत्र अवस्थामा रहेको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा ११ लाख ८६ हजार ९ सय रुपैयाँ खर्च गरेर निर्माण गरेको ‘शहीद मनोज–झपेन्द्र स्मृति पार्क’ समेत अहिले प्रयोगविहीनजस्तै बनेको छ।
करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका पार्कहरू संरक्षण र सञ्चालनको अभावमा अलपत्र पर्नुले सरकारी लगानीमाथि नै प्रश्न उठेको स्थानीयवासीको गुनासो छ। पर्यटकीय सम्भावना बोकेको नरपानीमा निर्माण गरिएका पूर्वाधारलाई संरक्षण गर्दै प्रभावकारी रूपमा सञ्चालन गर्न सके स्थानीय अर्थतन्त्रसँगै पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने देखिन्छ। तर निर्माणपछि संरक्षण र सञ्चालनको स्पष्ट योजना नहुँदा राज्यको ठूलो लगानीबाट बनेका संरचना क्रमशः जीर्ण बन्दै जाने जोखिम बढेको छ।