काठमाडौं -उच्च अदालत पाटनले नेपाल वैदेशिक रोजगार (वैराे) व्यवसायी संघको निर्वाचन राेक्न अस्विकार गरेकाे छ । संघका निवर्तमान अध्यक्ष भुवनसिंह गुरुङले यही जेठ २४ गतेका लागि ताेकिएकाे निर्वाचन राेक्न माग गर्दै दायर गरेकाे रिटमा सुनवाइ गर्दै आज न्यायाधीश शिवबहादुर रानाभाटको एकल इजलासले निर्वाचन राेक्नु नपर्ने आदेश दिएकाे हाे ।
संघको प्रबन्ध समितिले अघि बढाएको निर्वाचन प्रक्रिया विधानसम्मत रहेको ठहर गर्दै निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्न आवश्यक नदेखिएकाे आदेशमा उल्लेख छ । याे आदेशसँगै संघकाे निर्वाचन हुने पक्का भएकाे छ ।
संघको प्रबन्ध समिति गठन गर्ने सल्लाहकारहरूको निर्णय तथा नयाँ कार्यसमितिको निर्वाचन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिएको निर्देशनविरुद्ध उच्च अदालत पाटनमा बुधबार रिट निवेदन दायर गरेको थियो।उक्त रिटमाथि बिहीबार न्यायाधीश शिवबहादुर रानाभाटको एकल इजलासमा सुनुवाइ गरेका थिए।
उत्प्रेषण रिट (०८२-WO-२०६२) मा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ निवेदक रहेको छ भने जिल्ला प्रशासन कार्यालय, बबरमहल काठमाडौं र नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रबन्ध समितिलाई विपक्षी बनाइएको थियो।सुनुवाइपछि अदालतले तत्काल निर्वाचन प्रक्रिया रोक्न आवश्यक आधार नदेखिएको भन्दै अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो। अदालतबाट अन्तरिम आदेश नआएपछि संघको प्रबन्ध समितिले तय गरेको निर्वाचन कार्यक्रम यथावत् अघि बढ्ने भएको छ।
संघभित्र नेतृत्व चयन र व्यवस्थापन सम्बन्धी विवादका बीच दायर गरिएको रिटमाथि अन्तिम फैसला भने हुन बाँकी रहेको छ। यद्यपि अन्तरिम आदेश नआएसँगै आगामी नेतृत्व चयनका लागि सुरु गरिएको निर्वाचन प्रक्रिया कानुनी अवरोधबिना अघि बढ्ने स्पष्ट भएको छ।यस आदेशलाई संघको प्रबन्ध समितिले निर्वाचन प्रक्रिया वैधानिक रहेको पुष्टि भएको रूपमा व्याख्या गरेको छ भने विवादित पक्षहरूले अन्तिम सुनुवाइबाट आफ्नो पक्ष स्थापित हुने अपेक्षा व्यक्त गरेका छन्।