नुवाकोट- नेपालको बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई संस्थागत गर्दै स्थानीय तहको सरकारी कामकाजमा मातृभाषाको प्रयोग बढाउने उद्देश्यले नुवाकोटको बट्टारस्थित तामाङ प्लाजामा “सरकारी कामकाजमा तामाङ र नेपाल भाषाको प्रयोग” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल तामाङ घेदुङको आयोजनामा तथा नेवा देयः दबू र बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा आयोजित कार्यक्रमको अध्यक्षता नेपाल तामाङ घेदुङका संघीय उपमहासचिव तथा भाषा कार्यक्रम संयोजक बिलाम मोक्तानले गरेका थिए।अध्यक्ष मोक्तानले भाषा केवल सञ्चारको माध्यम मात्र नभई समुदायको इतिहास, ज्ञान, संस्कृति र अस्तित्वको आधार भएकाले सरकारी संरचनाभित्र मातृभाषाको सम्मानजनक प्रयोग सुनिश्चित गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए। उनले भने, "भाषिक अधिकारको कार्यान्वयन संविधानको भावना अनुरूपको दायित्व भएको छ "।
उक्त अन्तरक्रियामा वक्ताहरूले नेपालको संविधानले सुनिश्चित गरेको भाषिक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न स्थानीय तहहरूले मातृभाषामा सेवा प्रवाह, सूचना प्रकाशन, अभिलेख व्यवस्थापन तथा सार्वजनिक सञ्चारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। तामाङ र नेपाल भाषा सम्बन्धित समुदायको पहिचान, संस्कृति र सभ्यताको आधार भएकाले सरकारी कामकाजमा यसको प्रयोगले नागरिकलाई राज्यसँग थप नजिक बनाउने धारणा व्यक्त गरिएको थियो।
कार्यक्रममा मातृभाषाको संरक्षण, संवर्द्धन र पुस्तान्तरणका लागि स्थानीय सरकार, भाषा आयोग, समुदाय तथा सरोकारवाला संस्थाहरूबीच सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने निष्कर्ष निकालिएको थियो। सहभागीहरूले बागमती प्रदेशभित्र तामाङ र नेपाल भाषाको प्रयोगलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न नीति, जनशक्ति विकास र आवश्यक स्रोत व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेका थिए।
स्थानीय तहका जनप्रतिनिधि, भाषा अभियन्ता, बुद्धिजीवी तथा विभिन्न जातीय संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश तामाङ, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, संस्कृति तथा पर्यटन मन्त्रालय, काठमाडौं सम्पर्क कार्यालयका प्रमुख पवन पोखरेल, नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार मोहन गोले, भाषा आयोगका पूर्व कामु सचिव तथा शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव डा. लोकबहादुर लोप्चन, नेवा देयः दबूका महासचिव श्रीकृष्ण महर्जन, नेपाल तामाङ घेदुङका संघीय उपमहासचिव निर्मल तामाङ, सचिव उषा वाइबा, संघीय सदस्य सुशील वाइबा, सूर्यबहादुर तामाङ लगायत नुवाकोट जिल्लाका वडा अध्यक्ष, सदस्य, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
अन्तरक्रिया कार्यक्रमले स्थानीय सरकार, भाषा अभियन्ता र समुदायबीच मातृभाषाको प्रयोगलाई संस्थागत गर्ने विषयमा साझा प्रतिबद्धता निर्माण गरेको सहभागीहरूको भनाइ रहेको थियो।