जब बाढी र पहिरोको बितण्डा मच्चिन्छ, नेपालमा अनेकन अड्कलबाजी गरिन्छ । गएको असोजमा काभ्रे र ललितपुरका विभिन्न क्षेत्रमा आएको बाढीको कारण क्रसर उद्योग भनियो । यसपटक रसुवाको रसुवागढीमा आएको बाढी हिमताल फुटेर भनिएको छ । चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोकको तातोपानी, मेलम्ची र मुस्ताङ क्षेत्रमा आउने बाढीको पनि नेपालले अझैसम्म कसरी आयो भनी पत्ता लगाउन सकेको छैन ।
चीनले भने भारी वर्षा हुनासाथ नेपाल भएर बग्ने नदी आसपास सतर्कता अपनाउन सूचना पठाउँछ । यस्ता सूचनामा नेपालले खासै वास्ता गर्दैन । असार पहिलो हप्तामात्र सिन्धुपाल्चोकको तातोपानी नाका भएर बग्ने भोटेकोशीमा बाढी आउने पूर्वनुमान गर्दै चीनले सूचना पठाएको थियो । तर नेपालको मौसम पूर्वानुमान महाशाखाले खण्डन गरेर वर्षाको कुनै सम्भावना नै नरहेको ठोकुवा ग¥यो । नभन्दै नेपालको पूर्वानुमान मिल्यो ।
रसुवाको रसुवागढी क्षेत्रमा पनि पानी पर्ने भन्दै असार १० बाटै चिनियाँ पक्षले सतर्कता गराएको थियो । यसलाई जिल्ला प्रशासनले पनि सचेत गराएको थियो । तर नेपाली मौसम पूर्वानुमान महाशाखाले यसबारे खासै केही बोलेन । बरु अहिले त्यो बाढी वर्षाका कारण नभएर हिमताल फुटेर भएको निष्कर्ष निकालेको छ । यसअघि मेलम्ची बाढी पनि यसैगरी के कारणले भएको हो भनी पत्ता लगाउन सकेन सरकारको निकायले ।
खासगरी नेपालको उत्तरी भेगमा हिमाल रहेको कुरा सबैलाई जानकारी छ । अझ उता तिब्बती क्षेत्रमा पानीको विशाल भण्डार रहेको छ । तिब्बतलाई विश्वकै धेरै पानीको रिजर्भेयर भएको क्षेत्रसमेत भनिन्छ । यहाँ विशाल तालहरु रहेका छन् । तिब्बतलाई ‘वाटर टावर अफ एसिया’ पनि भनिन्छ । एसियामा बग्ने आठ मुख्य नदीहरुको स्रोतसमेत तिब्बतमा छ ।
यस्तो अवस्थामा तिब्बतमा कति पानी पर्छ ? यसले नेपालहुँदै आउने नदीहरुमा कसरी पानी पठाइन्छ भन्ने विषयमा चीनसँग ‘जल कूटनीति’ को माध्यमबाट समाधानका उपाय खोजिनै पर्छ । किनभने विभिन्न अध्ययनहरुले तिब्बतको पानी एकै ठाउँ पारेर नेपालतिर बगाइदिए सार्क मुलुक नै बगाएर ध्वस्त हुने उल्लेख गरेको छ । अहिले अमेरिकाजस्तो शक्तिशाली देशहरुले समेत तिब्बतलाई जल सामरिक शक्तिकेन्द्रको रुपमा व्याख्या गर्दै यस क्षेत्रलाई विशेषरुपमा हेर्दै आएको छ । यसरी शिरमा पानीको विशाल भण्डार राखेर जोखिममा बस्नुभन्दा नेपाल सरकारले जल सम्झौता गर्नैपर्छ । यसपछिमात्र यसखाले विपत्तिबाट बच्नुका साथै अनेकन अड्कलबाजी गरिरहनुपर्ने बाध्यताबाट मुक्ति मिल्ने छ ।