Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #हुक्कालोली
Search Here
विचार
  • Home
  • विचार
  • माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जनमात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जनमात्र ?
रवीन्द्र तामाङ
रवीन्द्र तामाङ शनिबार, कात्तिक १, २०८२

प्रसंग
दसैंको साइत पारेर राजधानीका चलचित्र हलहरुमा असोज १३ गतेदेखि ‘माइतीघर’ नामक चलचित्र प्रदर्शन भइरहेको छ। चलचित्रले राम्रो व्यापार गरिरहेको समाचार पनि आइरहेको छ। यसैले होला, तामाङ समाजका व्यक्तित्वहरु सिनेघर धाइरहेको सामाजिक सञ्जालबाट थाहा पाउन सकिन्छ। मैले पनि असोज २६ गते माइतीघर हेर्ने मौका पाएँ। पहिलो तामाङ चलचित्र ‘सेमरी छोरङान’देखि पछि बनेका थुप्रै तामाङ चलचित्रको समीक्षा गर्ने मौका पाए पनि व्यस्तताका कारणले उक्त कार्यलाई निरन्तरता दिन सकिनँ। हालै माइतीघर चलचित्र हेरिसकेपछि समीक्षात्मक लेख लेख्ने प्रयास गरेको छु।

विषय प्रवेश
रोहित अधिकारी फिल्मस् प्रालिको ब्यानरमा बनेको चौथो प्रस्तुति हो चलचित्र माइतीघर। यो चलचित्रमा रविन शेरचन र धिरज तामाङको संयुक्त लगानी रहेको छ। संघीय राजधानी र यस वरिपरिका पर्वतीय क्षेत्रका आवाद आदिवासी तामाङ जातिको विवाह संस्कृतिलाई मूल विषयवस्तु बनाइएको छ।

कथा सार
महाराज (शिशिर वाङदेल) ब्रुनाईका लाहुरे बनेका आफ्ना छोरा सानो महाराज (धिरेन मगर) बिदाको मौकामा घरमा आउँदा मागी विवाह गरेर बुहारी भित्र्याउने मनसाय राख्दछन्। जसका लागि बेहुली खोज्ने जिम्मा हरि बाजेलमी (केदार घिमिरे) लाई दिन्छन्। उनी केटी खोज्न सहायक लमी (तामाङ युवा) लिएर गाउँमा पुग्छन्। जहाँ उसले महाराजको छोराका लागि उपयुक्त बधु/केटी रहेको जानकारी पाउँछ। अनि ऊ केटीको घरमा प्रवेश गर्छ। केटीका बाबु बुद्धि तामाङ र आमा (संगीता थापा) लाई भेटेर विवाहको कुराकानी राख्छ। कुराकानी अगाडि बढाइरहेकै बेला घरकी कान्छी छोरी छ्योइसाङ (श्यामाश्री शेर्पा) आइपुग्छिन्। छ्योइसाङको जीउडाल र रुप रङलाई हेरेर मख्ख पर्छ लमी। ‘केटी राम्रै रहेछ’ भनेर केटीको बुबासँग ‘छिट्टै माग्न आउँछौं’ भनेर फर्कन्छ।

घरपरिवारमा जेठी छोरी म्हारसाङ (उपासना सिंह ठकुरी) लाई माग्न आएको ठान्दछन्। उनीहरु विवाहको तयारीमा जुट्दछन्। मामाको छोरी म्हारसाङ भने अपरिचित व्यक्ति आफूलाई माग्न आएको कुराले झस्किन्छे। आफ्नो फुपाजु (पुस्कर गुरुङ) को धर्म टुहुरो छोरा एवं प्रेमी सोनाम (प्रकाश सपुत) लाई बताउन पुग्छिन्। सोनाम आफ्नो मामाकी छोरी म्हारसाङ आफूलाई मन परेका कारण अन्य केटासँग विवाह गरेर पठाउन चाहदैनन्। त्यसैले सोनाम म्हारसाङलाई भगाएर आफ्नो जीवनसंगी बनाउन चाहन्छन्। तर म्हारसाङ भने आज्ञाकारी छोरी भएकी कारण भागी नभई स-सम्मान मागी विवाह गर्न चाहन्छे।

Hardik health

‘नआत्तिऊ, केही समय पर्खौं न, केही उपाय निक्लिहाल्छ कि’ भनेर सोनामलाई भन्छे। उक्त कुरा सोनामले पनि आफ्ना बाबुलाई भन्छ। सोनामको बाबु मामा ससुरालीमा गएर आफ्ना धर्म छोराका लागि लाचार भएर भदैनी म्हारसाङको हात माग्न पुग्छ। ‘आफ्नो दिदीबाट बच्चा नभएकोले बाबु आमाको अत्तोपत्तो नभएको बच्चा घरमा ल्याएको कारण आफ्नो दिदीले घर छोडेर बेपत्ता भएको रिस र केटाको न जात न रगत न थर भएको धर्मभञ्जालाई कसरी छोरी दिने’ भनेर जेठानले भेनाजूलाई गाली गरेर बेइज्जत गरेर पठाउँछ।

Maitighar_Review3-1760785014.jpg
यतिकैमा केटाको बाबु, महाराज, छोरा सानो महाराज तम्बा, गान्बा, गान्सोमसहित सोलीडोली लिएर म्हारसाङको घरमा बुहारी माग्न आइपुग्छन्। बेहुला पक्षका एक तम्बाले यसरी कुराकानी अगाडि बढाउँछ- ‘ओ! आस्याङ सम्धीहरु हो, कुरा कताबाट सुरु गर्ने हो।’ 

अर्को तम्बाले थप कुरा अगाडि बढाउँदै भन्छ- ‘हामीलाई यहाँ पोङ लिएर आउनु भन्ने कुरा हरि बाजेले भन्नुभएको हो, र सुन्नमा आएको यताको वनमा असाध्य राम्रो बान्की परेको मुनाल चरी फुरफुर गरी उडिरहेकी छिन् रे! हाम्रो उता वनको असाध्य राम्रो लोभै लाग्दो डाँफे चरो रनवन चाहर्नलाई यता आइरहेको छ। यिनीहरुको जोडी मिलाइदिनुपर्यो भनेर हामी माग्न आएका हौं। आस्याङ ह्रिम्बोछे!’

केटीको बाबु आफ्नी दिवंगत जेठी श्रीमतीको छोरी म्हारसाङलाई सगुन ग्रहण गरेर जतिसक्दो छिटो विवाह गरेर पठाइहाल्ने सुरसारमा हुन्छ। यसैबीच म्हारसाङको बाजे (युवराज लामा) ले आफ्नी नातिनीले छोरीको धर्म छोरा भाञ्जासँग प्रेम बसेकोले विवाह गर्न नचाहेको थाहा पाउँछ। त्यसैले छोरालाई सगुन ग्रहण गरी नहाल्न अनुरोध गर्दछ। केटीको बाबुले आफ्नो बाबुको कुरा काट्न सक्दैन। त्यसपछि म्हेम्हे (बाजे) ले आफ्ना नातिनी लाने भए ‘विवाहको दिनमा आउनू, केटीको अनुहार हेर्न पाउँदैनौं, चिनेर लग्नू। चिन्न नसके घरज्वाइँ बस्नू, घरज्वाइँ नबस्ने भए जुन छोरी दिन्छौं सोही छोरी लानुपर्ने’ भनी सर्त राख्दछ। म्हेम्हेले विवाहको दिनभन्दा अगाडि बेहुला र बेहुलापक्ष गाउँमा लुकेर आए भने छोरी नदिने र विवाह रद्द हुने थप सर्त राख्छ। नातिनी नदिनका लागि म्हेम्हेले यसरी अनावश्यक सर्तहरु तेर्स्याउँछ। केटापक्षका सबै अचम्ममा पर्छन्। विवाहका लागि ल्याइएको पोङ अस्वीकार गरेको र केटापक्ष भएकोले केटीनाथे त जति पनि पाइन्छ भनेर उठेर हिँड्न खोज्छन्। तर लमी हरि बाजेले ‘सायद तपाईंलाई थाहा होला, कुनै समय तामाङको पनि राज्य थियो भनेर राज गर्ने राजाको उत्तराधिकारी भएर युद्धमा हारेको सिपाहीजस्तो पिठ्युँ फर्काएर हिँड्न सुहाउँला ?’ भनेपछि बेहुलापक्ष सर्त स्वीकार गरेर घर फर्कन्छ।

कथा तामाङ जातिले लेख्नु, तर पटकथा संवाद गैरतामाङले लेखेर हो वा किन हो ? तामाङ जातिको विवाह परम्परागत प्रथाहरु चलचित्रमा भत्काइएका र बिगारिएका छन्। तर चलचित्रमा रहेको पुरानो नेपाली माइतीघर चलचित्रको गीत ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’ भन्ने गीत र तामाङ जातिको विवाहको दर्शन समेटिएको ‘सृष्टिको कुरा आएछी,मानव उत्पत्ति भएछी’ भन्ने सेलो गीतले माइतीघर चलचित्रलाई यसरी जीवन्तता दिएको छ कि के भनौ चलचित्रका सबै कमजोरीलाई बिर्साइदिएको छ।

तर केटीको घरमा दुई-दुई वटी छोरी भएकाले कुन केटीसँग आफ्नो विवाह हुन लागेको हो ? भनेर सानो महाराजलाई थाहा हुँदैन। उसमा कौतुहल्ता हुन्छ र ऊ आफ्नो हुनेवाली श्रीमतीको नाम पत्ता लगाएर भेट्न आफ्ना बाबुले स्वीकारेको सर्तको बर्खीलाप लमी हरि बाजेलाई लिएर हिँड्छ। त्यसैले सानो महाराज र लमी हरि बाजे केटीको गाउँमा लुकिछिपी प्रवेश गर्छन्। कहिले पुलिस बनेर त कहिले तान्त्रिक जोगी बनेर प्रवेश गर्न गर्दछन्। यसरी गरिएको सानो महाराजको हरेक प्रयासको विफल पार्न सोनामले पनि गाउँमा कोही नयाँ मान्छे आउँदा केरकार गर्ने, नयाँ मान्छेलाई प्रवेशमा रोक लगाउने र जबरजस्ती गाउँमा प्रवेश गर्न खोजे ठीक पार्न गुण्डाहरु खटाउने काम सोनामले गर्दछ। केही नलागेपछि सानो महाराजले ड्रोन उडाएर केटीको घरतर्फ पठाउँछ। यसरी उडाएको ड्रोनलाई पनि गुलेली हानेर खसाल्ने काम सोनामले गर्छ। सानो महाराजले आफ्नो हुनेवाली श्रीमतीलाई भेट्न नसकेपछि अन्त्यमा सानो महाराज र लमी लामा पुरोहितको भेषभूषा धारण गरेर केटी भेट्न घरसम्म प्रवेश गर्दछन्। तर कुराकानी र परिचय गर्न पाउँदैनन। जुन कुरा म्हारसाङ आफ्नो प्रेमिकालाई जानकारी गराउँछे। त्यसपछि सानो महाराज र लमी भाग्दछन्। सोनाम र उसका साथीहरुले लखेट्छन्। बरु यसै बीचमा लमी हरि बाजे एक छोरा भएकी श्रीमान्सँग छुट्टिएर बसेकी तामाङनी (रजनी गुरुङ) सँग प्रेममा फस्छ। अत्यन्तै रोमाञ्चक मोड्मा उनीहरुको प्रेम सफल हुन पुग्छ।

सानो राजा साहेवसँग सोनामको जम्काभेट एउटा फलामे साँघुको पुलमा हन्छ। दुवै पक्षबीच द्वन्द्व हुन्छ। मारामारीको क्षणसम्म पुग्ने बखतमा छ्योइसाङले सानो महाराजलाई भन्छे- ‘सोनाम र म्हारसाङ यिनीहरु एक अर्कालाई सानैदेखि माया गर्छ। किन छुट्याउन खोज्छस् ए पापी! जानाजानी, तँलाइ पाप लाग्छ। बरु बिहे नै गर्ने भए मसँग गर, म तयार छु तँसँग बिहे गर्न। मेरो दिदीभेनालाई छोडि दे।’ सानो राजा छ्योइसाङलाई केही उत्तर नदिई ‘तोकिएको दिनमा म म्हारसाङलाई विवाह गर्न जन्ती लिएर आउँछु’ भनेर फर्कन्छ।

सर्तअनुसारमहाराज र सानो महाराज सोलीडोली, सगुन आइरक, जन्तीबाख्रा, तम्बा, गान्बा गान्सोम लिएर डम्फु बजाउँदै डम्फुरेहरु लिएर तोकिएको दिनमा बेहुलीको घरमा आइपुग्छन्। बेहुलीको बाजेले म्हारसाङलाई नचिने छ्योइसाङ विवाह गरेर पठाउन चाहन्छ। तर बेहुला सानु महाराज आफूलाई जानकारी भए पनि ऊ इज्जतका लागि चुप लागेर बस्छ। तर बेहुलापक्षले विवाहयोग्य छोरीचेलीको बीचमा म्हारसाङलाई चिनेर नै छोड्दछन्। अनि बेहुला पक्षका गान्बाले विवाहका लागि ल्याएको लुगा र गरगहना दिँदै लगाएर लगन गर्नका लागि आउन घरभित्र पठाउँछ।

घरभित्र कोठामा केटीको बाजे, बाबु, आमा, म्हारसाङ, छ्योइसाङ र सोनामसमेत हुन्छन्। के गर्ने के नगर्ने परिस्थितिमा हुन्छन् उनीहरु। अन्त्यमा बाजेले नातिनीको खुसीका लागि अन्तिम जुक्ति अर्थात् अस्त्र निकालेर सोनामलाई म्हारसाङलाई भगाएर लैजान भन्छन्। तर म्हारसाङ बाबु र सानीआमाको आज्ञाविना सोनामसँग भाग्न तयार हुँदैनन्। कान्छी छोरी छ्योइसाङ र बाजेको अनुनय विनयबाट म्हारसाङको बुबाको मन पग्लन्छ। म्हारसाङलाई बुबाले पनि ‘भाग छोरी भाग, जे पर्ला पर्ला’ भन्छ। त्यसपछि सोनाम म्हारसाङलाई लिएर भाग्छ। जुन दृश्य लमी हरि बाजेले देख्छ, ऊ हेरेको हेर्यै हुन्छ।

यसपछि बेहुलीको बाबुले हात जोडेर जन्ती सामुन्ने छोरी नदिने, बरु धन दौलत र जीवनमा जे परे पनि बेहोर्ने बताउँछन्। बेहुलाको बाबुले ‘धन दौलतको कुरा होइन सम्धी। यो त इज्जतको कुरा हो। तपाईंकी छोरीचाहिँ बूढीकन्या बस्नुपर्ला नि’ भन्छ। यसपछि केटीको बाबुले पनि ‘म आफ्नो छोरीलाई माइती घरमा नै राख्न सक्छु’ भन्छ।

‘त्यसो भनेर कहाँ हुन्छ र! अब, हाम्रो पनि त एउटा सर्त मान्नुपर्छ, अनिमात्र फर्कन्छौं हामी’ जन्तीपक्षले रिसाउँदै भन्छ। बेहुलीको बुबाले बुहारीका लागि ल्याएको गरगहना लुगाफाटा लगाएर गाउँ घुम्नुपर्ने सर्त बेहुलापक्षले राख्दछ। केटीको बाबुले पनि आफ्नो छोरीको खुसीका लागि सो सर्त स्वीकार्दछ। त्यतिकैमा लमी हरि बाजेले ‘यो सर्त त केटीको बाबुलेभन्दा पनि केटीको बाजेलाई पालना गर्न लगाउँदा झन् मज्जा हुन्छ’ भन्दा जन्तीपक्ष सबैले ‘हो’ भन्दछन्।

बाजेले पनि उक्त सर्त गाउँलेसमक्ष स्वीकार गरेर नातिनीलाई ल्याइएको लुगाफाटा र गरगहना छ्योइसाङलाई लगाइदिन अनुरोध गर्दछ। त्यसै समय बेहुला सानोमहाराजले आफूले खोजेजस्तो गुण दिदीमाभन्दा बहिनी छ्योइसाङमा भएकोले म उसलाई बेहुलीको रुपमा स्वीकार्ने कुरा गर्छ। तर छ्योसाङ उक्त प्रस्तावलाई अस्वीकार गर्छे। त्यसपछि सानो महाराजले ‘हामीले म्हारसाङलाई नभइ छ्योइसाङलाई नै बेहुलीको रुपमा स्वीकार्ने योजना बनाएर आएको हो’ भनेर बताउँछ। अनि सपरिवारमा खुसी छाउँछ।

अनि तामाङ डम्फुरेहरुले यसरी सेलो गाउँछन्-
केटीपट्टिको डम्फुरेः
सृष्टिको कुरा आएसी
मानव उत्पत्ति भएसी
के राखेको सगुन यो
कहिले त देखिको चलन यो
तम्बाले डम्फु बजाको
सगुन किन सजाको
अहिलेको कुरा धेर मीठो है
वाणीको छिटो ....क्या मीठो

केटापट्टिको डम्फुरेः
धर्ती र आकाश बस्दामा
राजाको बिहे हुँदामा
उधो त मधेस नौ राजा
उभो त हिमाल नौ राजा
नौ-नौ राजा अठाह्र जात
तीन बिसा जान यही हो बात
अझै सुनौ कहाँदेखि है
थर बसेको त्यहीदेखि...लास्सो।।

अन्त्यमा, विवाहका लागि केटापक्षले ल्याएको सगुन कोसेली र पोङ केटीपक्षले स्वीकार गर्दछ। तम्बाले ‘अब त चाङछार (बुहारी) ल्याउनुपर्यो है। आस्याङ ह्रिम्बोछे’ भन्दछ। त्यसपछि छ्योइसाङलाई बेहुलीको रुपमा श्रृंगार गरेर आँगनमा ल्याएर बेहुलासँगै राखिन्छ र लगन गरिन्छ। टीकाटालो गर्दै छोरीलाई बिदाइ गर्दै केटीको बाबुले भन्छ- ‘हामीले तपाईंहरुलाई छोरीको रगत मासुमात्र दिएका छौं, हाड अर्थात् थर भने दिएका छैनौं है आस्याङ ह्रिम्बोछे’ भन्दछ। बेहुलाको बाबु र पक्षहरुले ‘सही हो सम्धी सही हो’ भन्छन्। अनि बेहुलीपट्टिका दाजुभाइले बेहुलाबेहुलीलाई पिठ्युँमा बोकेर माइतीघरबाट बिदाइ गर्दछन्। बेहुलीपट्टिका डम्फुरेहरु ‘आम्मैले होइ आम्मैले होइ’ भनेर डम्फु बजाउँदै सेलो गाउँदै घरतर्फ अघि बढ्दछन्। चलचित्र समाप्त हुन्छ।

Maitighar_Review2-1760785014.jpg
समालोचनाः
यस चलचित्रको समालोचना दुई तरिकाबाट गर्न गइरहेको छु-

१. मनोरञ्जनको आधारमा
‘चलचित्र भनेको मनोरञ्जनको साधन हो’ भन्ने दृष्टिकोणबाट हेर्दा माइतीघर चलचित्रलाई तामाङ वा गैरतामाङ जुनसुकै दर्शकले यसले भरपुर मनोरञ्जन दिएको छ। कथा, पटकथा, संवाद, अभिनय, छायांकन र निर्देशनको हिसाबले यस चलचित्र व्यावसायिकरुपमा सफल छ। चलचित्रमा युवराज लामा, शिशिर वाङदेल, केदार घिमिरे ‘माग्ने बूढा’ र बुद्धि तामाङलाई महत्त्वपूर्ण भूमिका दिइएको छ। धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा गौण हुन पुगेका छन्। सहायक कलाकारहरु संगीता थापा र रजनी गुरुङ आ-आफ्ना भूमिकामा जमेका छन्।

चलचित्रका कथा तामाङ समाजको परिवेश ग्रामीण नै भएकोले सेटिङ मिलेको देखिन्छ। छायांकन र संगीत पनि राम्रो छ। वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको कथा सांस्कृतिकरुपमा भने कमजोर छ। नायक धिरजले मागी विवाह गर्दा केटी नै नहेरेको विषय निकै काल्पनिक छ। किनभने तामाङ समुदायमा एक त मगनी जानुअघि नै केटाकेटीबीच हिमचिम वा चिनजान भइसकेको हुन्छ। अर्को समयले कोल्टे फेरिसकेको अवस्थामा अहिले अरु समाज पनि उदार भइसकेको छ। विवाहअघि केटाकेटीबीच सक्दो घनिष्ट सम्बन्ध कायम गर्ने कोसिस गरिन्छ।

प्रस्तुत चलचित्रमा त्यस्तो के नै फरक र ऐतिहासिक कुरा छ र ? आफ्नो हैसियत नै छोडेर तामाङ चलचित्रमा ‘महानायक’ भनी चर्चामा रहेका अमिर दोङ एउटा विवाहको तम्बा गीतमा देखिन्छन्। त्यसैगरी तामाङ चलचित्रकी वरिष्ठ नायिका चाँदनी मोक्तान पनि सोही गीतमा झुलुक्क देखिन्छिन्। तामाङ हास्य कलाकार कुइसाङ रुम्बा पनि झुलुक्क देखिएकाले धेरैलाई यो दृश्यले हँसाउन सक्छ। तामाङ चलचित्र जगतमा स्थापित यी अनुहारहरुलाई देखाउने मात्रै काम गरेकोले यसलाई विडम्बनाको रुपमा लिनुपर्दछ। 

तर पटकथा र संवाद रामशरण पाठकले तामाङ संस्कृतिको ज्ञान नभए पनि मनोरञ्जनात्मक रुपमा अब्बल नै लेखिदिएका छन्। उनले तामाङ र ब्राह्मण जातिबीचको सहसम्बन्धमा खलल हुने कुरा उल्लेख गरिदिएका छैनन्। कथा तामाङ जातिले लेख्नु, तर पटकथा संवाद गैरतामाङले लेखेर हो वा किन हो ? तामाङ जातिको विवाह परम्परागत प्रथाहरु चलचित्रमा भत्काइएका र बिगारिएका छन्। तर यसअघिको नेपाली कथानक चलचित्र ‘माइतीघर’को गीत ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’ र तामाङ जातिको विवाह दर्शन समेटिएको ‘सृष्टिको कुरा आएसी...’ बोलको सेलो गीतले अहिलेको माइतीघर चलचित्रलाई जीवन्तता दिएको छ। यी दुई गीतले नै चलचित्रका सबै कमजोरीलाई बिर्साइदिएको छ।

कथा तामाङ समाजको भए पनि चलचित्रको नाम नेपालीमा हुनु, निर्माता र निर्देशक तामाङ जातिका हुदाहुँदै पनि तामाङ चलचित्रका वरिष्ठ कलाकारहरुलाई गीतमा झुलुक्क समेट्नु र तामाङ विवाह मौलिकतालाई तोडमोड गरेर देखाइनु नै यस चलचित्रको दुर्बल पक्ष हो भन्दा फरक पर्दैन। यति कमजोरी हुँदाहुँदै पनि चलचित्रले तामाङ दर्शकबाट नै मनग्य आम्दानी गर्ने कुरा भने निर्विवाद छ।

२. तामाङ संस्कृतिको आधारमा
‘चलचित्र समाजको दर्पण, इतिहास र अभिलेखीकरण पनि हो’ भन्ने दृष्टिकोणबाट हेर्ने हो भने यस चलचित्रमा धेरै राम्रा कुराहरु प्रस्तुत गरिएका छन्। तामाङलगायत आदिवासी जनजाति आज पनि आफ्नो मौलिक पहिचान (भाषा, संस्कृति र इतिहास)का लागि संगठित भएर लडिरहेका बेला आएको माइतीघर चलचित्रको यो सवल पक्ष मान्नुपर्छ। तर चलचित्रको कथालाई मनोरञ्जनात्मक रुपमा आकर्षण गर्नका लागि विभिन्न सूत्र र जुक्तिको प्रयोग परीक्षणका रुपमा गरिएका छन्। जसलाई पात्र, संवाद र अभिनयमार्फत प्रस्तुत गर्दा भने तामाङ जातिको विवाह संस्कृतिका मौलिक परम्परालाई नै खिल्ली उडाएको देखिन्छ। जुन कुरा गैरतामाङले बुझ्दैनन्, उनीहरुले तामाङ संस्कृति भनेको यस्तो पो रहेछ भनेर बुझ्दछन्।

उदाहरणका लागिः

  • चलचित्रको नाममा नै तामाङपन नहुनु। 
  • तामाङ विवाहको कथा मागी र भागी भएता पनि सांस्कृतिक यर्थाथताभन्दा बढी काल्पनिक सूत्र वा जुक्तिहरु प्रयोग गरिनु।
  • तामाङ विवाहको मौलिक परम्परा ‘मामाचेला-फुपूचेली’ मा धर्मपुत्रलाई घुसाइदिनु।
  • तामाङ विवाहमा ब्राह्मण बाजेले लमी बनेर केटी खोज्ने दृश्य समेट्नु। 
  • लमी हरि ब्राह्मणको पतिसँग सम्बन्धबिच्छेद् भएकी एक छोराकी आमा (तामाङनी)सँग लसपसे सम्बन्धको दृश्य समेट्नु। 
  • मागी विवाहमा केटापक्षले केटी माग्न जाँदा केटीले विवाहका लागि स्वीकार गरेपछि मात्र सगुन, कोसेली र पोङ लगिने प्रसंगमा हुनुपर्नेमा अन्यथा प्रस्तुत गरिनु।
  • भागी विवाहमा केटापक्षको परिवारको जोडबल हुनुपर्नेमा केटीपक्षको सपरिवारकै सदीक्षा बढी भएको दृश्य देखाइनु। 
  • मागी विवाह केटीपक्षले बिराजी भइसकेपछि पोङ फिर्ता गरेर विवाह रद्द हुनुपर्नेमा त्यसो नभई विपरीत दृश्य राखिनु। 
  • तामाङ समाज मातृसत्तात्मक समाज पनि भएकोले आफ्ना छोरीचेलीहरुलाई विवाह भएर गए पनि वा विवाह टुटेर पनि ऊ माइतीघरमा निर्धक्कसँग बस्न सक्ने समाज हो भन्नेमा चलचित्र स्पष्ट भएको संवाद नपाइनु। 
  • चलचित्रको शीर्षकअनुसार मूल नायिकाहरुको अहम् भूमिका अर्थात् सशक्त हुनुपर्नेमा पुरुषप्रधान समाजजस्तो नायकहरुमा निर्भर भएको दृश्य देखाइनु। 
  • तामाङ समाजमा विवाह भंग भएमा छोरी अर्कैलाई गएका कारण छोरी दिन नसक्नेले वा छोराले अर्कै केटी ल्याएर मागेको छोरी वा ज्वाइँ जो जसले छोडे पनि क्षतिपूर्ति भर्ने परम्परा छ तर चलचित्रमा देखाएजस्तो दृश्य तामाङ समाजमा पाइँदैन। 
  • तामाङ विषयवस्तुमा बनेको चलचित्रमा पनि वरिष्ठ तामाङ कलाकारहरु निरीह भएर गीत र नृत्यतिरमात्र झल्याकझुलुक देखाइनु।

माइतीघर चलचित्रमा तामाङ संस्कृतिमा नै नभएका परम्पराहरुमाथि उल्लिखित दृश्यहरु कथाकार, पटकथाकार र संवाद लेखकले मनसायगतरुपमा वा आदर्श समाज निर्माणका लागि बुनिदिएका छन्। हामीले उक्त दृश्यहरु चलचित्रलाई मनोरञ्जन प्रदान गर्नमात्र लेखेका हौं भन्न सक्नुहोला। तर तामाङ कथाकार र निर्देशक रहेको तामाङ कथानक चलचित्रमा यस्ता दृश्यहरु नआएको भए राम्रो हुन्थ्यो भन्ने मेरो मनसाय हो।

Maitighar_Review4-1760785015.jpg
केही उदेक लाग्दा र नबुझिने कुराहरु:
प्रस्तुत चलचित्रमा त्यस्तो के नै फरक र ऐतिहासिक कुरा छ र ? आफ्नो हैसियत नै छोडेर तामाङ चलचित्रमा ‘महानायक’ भनी चर्चामा रहेका अमिर दोङ एउटा विवाहको तम्बा गीतमा देखिन्छन्। त्यसैगरी तामाङ चलचित्रकी वरिष्ठ नायिका चाँदनी मोक्तान पनि सोही गीतमा झुलुक्क देखिन्छिन्। तामाङ हास्य कलाकार कुइसाङ रुम्बा पनि झुलुक्क देखिएकाले धेरैलाई यो दृश्यले हँसाउन सक्छ। तामाङ चलचित्र जगतमा स्थापित यी अनुहारहरुलाई देखाउने मात्रै काम गरेकोले यसलाई विडम्बनाको रुपमा लिनुपर्दछ। यी कलाकारहरुले पनि तामाङ चलचित्रभन्दा माइतीघरलाई ठूलै ठानेका हुन् कि ? भन्ने प्रश्न उठेको छ।

यदि चलचित्रका निर्माता धिरज तामाङ र निर्देशक मिलन तामाङले चाहेको भए अमिर दोङ र चाँदनी मोक्तान जस्ता कलाकारलाई मुख्य भूमिकामा लिन सक्थे। तर उनीहरुले ती तामाङ अनुहारहरु नेपाली चलचित्रमा बिकाउ नहोलान् भनेर जोखिम मोल्न नचाहेको प्रस्ट देखिन्छ। गीतअनुसार सेलो गायक फूलकूमार बम्जनको भूमिका भने सुहाउँदो नै देखिन्छ। कलाकार बन्न हौसिएका उनको भूमिका र अभिनय ठिकै देखिन्छ। साथै, उनी गायनमा जमेका छन्।

चलचित्रका लेखक वरिष्ठ गायक चन्द्रकुमार दोङले तामाङ विवाहको कथा निर्देशकले नेपाली चलचित्र लेखनमा समाहित रामशरण पाठकलाई व्यावसायिकरुपमा पटकथा र संवाद लेख्न लगाएर मनोरञ्जनात्मक जीवन्तता दिन लगाएको देखिन्छ। यसैगरी तामाङ विवाहमा आधारित कथामा व्यावसायिक नेपाली चलचित्रमा स्थापित कलाकारलाई अभिनय गराएका छन्। तामाङ समाजमा ‘कसैसँग माया प्रेम हुन गए सो प्राप्तिका लागि, आफ्नो नातागोता, जातभात, थरघर र संस्कृति परम्पराभन्दा माथि मानवताका लागि उठ्नुपर्छ है’ भनेर अप्रत्यक्ष रुपमा समाजमा सन्देश दिन चलचित्र सफल भएको देखिन्छ।

निष्कर्ष:
हरेक चलचित्र प्रस्तुत गर्दा ‘यस चलचित्र विशुद्ध मनोरञ्जनका लागि बनाइएको हो, यसबाट कसै (व्यक्ति वा समाज) लाई चोट पर्न गएमा, त्यो संयोगमात्र हुने छ’ भनेर कैफियत लेखेर प्रस्तुत गरिएको हुन्छ। माइतीघर चलचित्र पनि प्रस्तुत गर्दा त्यस्तै ‘कर्मकाण्ड’ पूरा गरिएको छ। यसो भनिरहँदा तामाङ जातिकै कथाकार, निर्माता र निर्देशक भएको नाताले यस चलचित्रमा तामाङ विवाह परम्परा, दर्शन र मान्यताका दृश्यहरु यथार्थभन्दा बढी काल्पनिकरुपमा प्रस्तुत गरिएको छ। जसले गर्दा माइतीघर चलचित्र तामाङ वैवाहिक संस्कृतिको दर्पण हो कि मनोरञ्जन गर्ने उद्देश्यले निर्माण भएको हो भन्ने प्रश्न खडा गरिदिएको छ।

नेपालका हरेक जातजातिका संस्कृति अमूर्त सम्पदा हुन्। यसको जगेर्ना र सम्मान गर्न हामी सबैको सद्भावना र कर्तव्य भएकोले जुन जातिका विषयमा चलचित्र निर्माण गर्ने हो, निर्माणसँग सम्बन्धित सबैले सो जातिको विषयमा थोरै भए पनि अध्ययन अनुसन्धान गर्न जरुरी हुन्छ। यसले सम्बन्धित जातिको सांस्कृतिक मूल्यमान्यता र मौलिकता एकातिर बुझिन्छ भने अर्कोतिर सो जाति र समाजलाई समेत चलचित्रजस्ता सशक्त माध्यमबाट अझ बढी रुपान्तरण गरेर सभ्य र सुसंस्कृत बनाउन सकिन्छ।

(प्रतिक्रियाका लागि: [email protected] तथा www.raviendratamang.com.np)


प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  १६:४८
#रवीन्द्र_तामाङ #‘माइतीघर’ #माइतीघर #चलचित्र
प्रतिक्रिया दिनुहोस्
थप विचार
सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि प्रदर्शन हुँदै
सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि प्रदर्शन हुँदै शुक्रबार, असोज ३१, २०८२
‘काठमाडौँ  हरर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि
‘काठमाडौँ हरर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि बिहीबार, असोज ३०, २०८२
‘न्यौली वनैमा’ गीत लोकप्रिय बन्दै 
‘न्यौली वनैमा’ गीत लोकप्रिय बन्दै  बुधबार, असोज २९, २०८२
'परान'को टिजर सार्वजनिक
'परान'को टिजर सार्वजनिक सोमबार, असोज २७, २०८२
 ‘मुगलान’ फिल्म पुष १० गतलाई प्रदर्शन हुँदै
 ‘मुगलान’ फिल्म पुष १० गतलाई प्रदर्शन हुँदै सोमबार, असोज २७, २०८२
राजेश हमालको पुस्तक लोकार्पण
राजेश हमालको पुस्तक लोकार्पण आइतबार, असोज २६, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP