काठमाडाैं- सर्ट फिल्म ‘टाँक’ युट्युबमा रिलिज गरिएकाे छ । अभिनेत्री प्रियंका कार्की अभिनय र निर्माण गरेकाे उक्त फिल्म प्रियंकाले आफ्नो जन्मदिनमा फिल्म रिलिज गरेकी हुन् ।
कोरोना महामारीभन्दा अघि वेब सिरिज ‘जस्ट एनदर लभ स्टोरी’ निर्माण गरेकी उनले २ वर्षअघि सर्ट फिल्म ‘टाँक’ पनि बनाएकी थिइन् । केही अन्तर्राष्ट्रिय फेस्टिभलमा स्क्रिनिङ गरेपछि यो फिल्मलाई गत शुक्रबार युट्युबमा रिलिज गरिएको छ ।
साम्तेन भुटियाको निर्देशनमा बनेको यो फिल्म १४ मिनेट ४४ सेकेण्ड लामो छ । यसमा प्रियंका स्वयंले अभिनय गरेकी छन् ।प्रियंका र उनका श्रीमान् आयुष्मान देशराज जोशी कार्यकारी निर्माता रहेको यस फिल्ममा प्रियंकासहित रोयल केसी, एलेक्स केसी, अरुण रेग्मी, घनश्याम जोशी, रेनु योगी लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । निर्देशक भुटिया स्वयंको लेखन तथा सम्पादन रहेको ‘टाँक’लाई आयुष्मानले छायांकन गरेका हुन् ।
प्रियंकाले सुदुरपश्चिमको लवजमा प्रस्तुत भएकी उनले एक आमाको भूमिका निभाएकी छन् । अझै पनि तुइनको साहरामा नदी तर्नुपर्ने नेपालीको बाध्यतालाई चित्रण गर्दै फिल्मले एक आमा-छोराको कथा भनेको छ । फिल्ममा प्रियंकाको अभिनय जीवन्त लाग्छ ।
फिल्म युट्युब रिलिज भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रियाको ओइरो लागेको छ । प्रायःले प्रियंकाको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् । कतिले उनको अहिलेसम्मकै उत्कृष्ट अभिनय भनेका छन् । फिल्मको कथा पनि उत्तिकै रुचाइएको छ । क्लाइमेक्सको ट्विस्ट र सन्तानप्रति आमाको प्रेमले स्तब्ध बनाएको प्रतिक्रिया पनि धेरै देख्न सकिन्छ ।
प्रियंकाले पहिलो पटक कथा सुन्दा नै आफूले यो फिल्म बनाउने निर्णय गरेको बताएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘यो हाम्रो लागि विशेष छ, किनभने यो आयंका फिल्म्सको पहिलो उत्पादन हो । हाम्रा प्रोड्युसरहरू र विशेषगरी लेखक-निर्देशक साम्तेनलाई धन्यवाद । मैले पहिलो पटक कथा सुन्दा नै तत्काल महसुस गरेको थिएँ कि हामीले यो फिल्म बनाउनु पर्छ ।’