काठमाडाैं - तामाङ समाज, संस्कृति र इतिहासलाई विश्वस्तरमा पहिचान दिलाउन अतुलनीय योगदान पुर्याएका अमेरिकी मानवशास्त्रीद्वय प्रा. डेभिड होल्म्बर्ग र प्रा. क्याथरिन एस. मार्चलाई काठमाडौँमा विशेष सम्मान गरिएको छ। तामाङ अध्ययन प्रतिष्ठान, नेपाल तामाङ घेदुङ तथा अन्तर्राष्ट्रिय तामाङ परिषद्को संयुक्त आयोजनामा मंगलबार कपनस्थित सिद्धार्थ बुटिक होटलमा एक समारोहबीच उनीहरूलाई सम्मानित गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्राध्यापकद्वयलाई सम्मानपत्र प्रदान गरेर सम्मान गरेका थिए। सम्मान पछ कार्यक्रमलाई सम्बोधन गर्दै राईले प्राध्यापकद्वयको प्राज्ञिक योगदानको प्रशंसा गर्दै भने, 'यो उचाइको योगदानलाई राज्यस्तरबाटै सम्मान गरिनुपर्थ्यो। तामाङ समुदायले पनि उनीहरूको कार्यलाई कदर गर्न केही ढिलाइ गरेको महसुस भयो।’
कार्यक्रममा भाषाशास्त्री एवं भाषा आयोगका पूर्व सदस्य अमृत योञ्जन-तामाङले प्राध्यापकद्वयको लामो प्राज्ञिक यात्रा र तामाङ अध्ययनमा उनीहरूले पुर्याएको विशिष्ट योगदानबारे चर्चा गरे। त्यसैगरी, समाजशास्त्री डा. कृष्ण भट्टचनले होल्म्बर्ग र मार्चलाई विगत आधा शताब्दीदेखि तामाङ तथा नेपाली समाजलाई विश्वमा चिनाउन समर्पित ‘निष्ठावान मानवशास्त्री’का रूपमा चित्रण गरे। भट्टचनले थपे, ‘अहिले धेरैजसो मानवशास्त्रीहरू औपनिवेशिक सोचबाट प्रभावित भइरहेका बेला यी दुई प्राध्यापक भने पूर्ण रूपमा आदिवासी दृष्टिकोण र व्यवहारमा प्रतिबद्ध छन्, जुन सराहनीय छ।’
सम्मानका क्रममा ताम्बा संघ, नेपाल र ताम्बा प्रतिष्ठानले प्राध्यापकद्वयलाई तामाङको परम्परागत बाजा डम्फू उपहार स्वरूप प्रदान गरे। त्यस्तै, म्हेन्दो माया कलाकार संघका तर्फबाट रोशन फ्युबा तामाङले पश्चिमी तामाङ संस्कृति झल्कने पहिरन (फेटा र ग्या) ओढाएर सम्मान व्यक्त गरेका थिए। समारोहमा विभिन्न तामाङ संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।