काठमाडौं- आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबीसहित निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ कात्तिक ३० गते हुने भएको छ।
कार्कीले बिहीबार आफ्ना कानुन व्यवसायीमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए। अध्ययनका क्रममा रहेकाले बिहीबार दर्ता हुन नसकेको उक्त निवेदन शुक्रबार सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको हो। प्रशासनका अनुसार रिटमा कात्तिक ३० गतेका लागि पेसी तोकिएको छ।
सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। तर, कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै त्यसविरुद्ध सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन्।
सरकारले पदबाट हटाउने निर्णय गरे पनि कार्कीले मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र भने बुझिसकेका छैनन्।