लिस्बन- युरोपेली मुलुक स्पेनमा ‘स्पेन आध्यात्मिक महोत्सव’ हुने भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) स्पेनको आयोजनामा आगामी अप्रिल ५ तारिखदेखि बार्सिलोनाको सालोन एल प्रादो, अल्मिरान्तेमा आध्यात्मिक महोत्सव हुने भएको हो ।
बार्सिलोनामा नेपाल घर (मन्दिर) निर्माण गर्ने उद्देश्यअनुरुप आध्यात्मिक महोत्सवको आयोजना गरिएको महोत्सवका संयोजक एवं एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले राससलाई जानकारी दिए । नेपाल घर (मन्दिर) निर्माण गर्नका लागि करिब एक लाख ८० हजार युरो लागत लाग्ने अनुमान गरिएको छ । महोत्सवबाट करिब दुई लाख युरो सङ्कलन गर्ने लक्ष्य राखिएको अध्यक्ष श्रेष्ठले बताए ।
सामाजिक, सांस्कृतिक तथा धार्मिक कार्यका लागि साझा केन्द्र स्थापना गर्ने लक्ष्यसहित बार्सिलोनामा ‘नेपाल घर’ निर्माण गर्न लागिएको श्रेष्ठले बताए । महोत्सवका लागि आवश्यक सामग्री नेपालबाट ल्याउने तयारी भइरहेको जनाइएको छ । कार्यक्रममा सहभागी भई महोत्सवलाई भव्यताका साथ सफल पार्न संयोजक श्रेष्ठले स्पेनवासी नेपाली समुदायलाई विशेष आग्रहसमेत गरेका छन् ।
महोत्सवले प्रवासमा धार्मिक तथा सांस्कृतिक परम्परालाई जगेर्ना गर्नाका साथै नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।