काठमाडौं - चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म ‘लालिमा’को सार्वजनिक ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ ।शनिबार सार्वजनिक यस ट्रेलर चौबीस घण्टा नबित्दै युट्युबको फिल्मतर्फ ट्रेन्डिङ नम्बर ५ मा पर्न सफल भएको हो ।
लेखक तथा निर्देशक रोशन मिराजले यौनकर्मीहरूको वास्तविकतालाई पर्दामार्फत् उजागर गर्ने उद्देश्यले बनाएको यस फिल्ममा नायिका रोश्नी कार्की शीर्ष भूमिमामा छन् ।फिल्ममा नायक जीवन भट्टराईका साथमा उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । ट्रेलरमा यी सबै पात्रलाई समेटिएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको दिन पारेर ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा आउँदैछ ।सार्वजनिक ट्रेलरमा नायिका रोश्नीलाई केन्द्र भागमा राखिएको छ । उनलाई स्पष्टरुपमा यौनकर्मीको चरित्रमा देखाइएको छ । ट्रेलरले उनी र नायक जीवन प्रेमसम्बन्धमा रहेको बताउँछ ।
यौनकर्ममा लागेकी ‘लालिमा’को जीवनमा आउने उत्तारचढावको कथामा फिल्म बनेको ट्रेलरले संकेत गर्छ । ट्रेलरको अन्तिममा रोश्नी मानसिक समस्यामा परेको देखिन्छ ।नायिका रोश्नी भन्छिन्, ‘हाम्रो फिल्मले देखाउने खोजेको विषय नै यौनकर्मीहरूको मानसिक समस्या हो । पृष्ठभूमि, बाध्यता, मनोदशा र कठिनाइका कारण उनीहरू कस्तो मानसिक अवस्थामा पुग्छन् भन्ने पक्ष पनि समेटिएको छ ।’