काठमाडौं - नेपाली लोक दोहोरी संगीत क्षेत्रमा नयाँ कोशेढुङ्गा थप्ने उद्देश्यका साथ “बालाजुमा बाइसधारा” बोलको गीत सार्वजनिक गरिएको छ। गीत गायक तथा सर्जक ईश्वर श्रेष्ठको शब्द तथा संगीतमा तयार भएको हो।
गीतमा शब्द तथा संगीत स्वयं श्रेष्ठकै रहेको छ भने स्वरमा उनलाई नविना खुइलीले साथ दिएका छन्। लोक दोहोरीको मौलिक स्वादलाई समेट्दै तयार गरिएको यस गीतमा आधुनिक संगीत संयोजनको प्रयोग गरिएको छ। संगीत व्यवस्थापन मदन प्रत्ययले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ गोविन्दा सोनीले गरेका छन्।
गीत एरिका डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनेको निर्माण टिमले जनाएको छ। भिडियोमा गायक श्रेष्ठ र विनिता दाहालको अभिनय देख्न सकिन्छ। छायांकन विशाल योञ्जनले गरेका हुन्, जसले निर्देशनको जिम्मेवारी समेत सम्हालेका छन्। मेकअप आशा लामाले गरेकी हुन् भने भिजुअल सम्पादन सुरज लामाले गरेका छन्।
पोस्ट–प्रोडक्सनको काम जीएस सिर्जनाले गरेका हुन् । निर्माण टिमका अनुसार “बालाजुमा बाइसधारा” ले नेपाली लोक संस्कृतिको मिठासलाई समेट्दै समसामयिक दर्शकको रोजाइलाई ध्यानमा राखेर तयार गरिएको छ। गीतले बजारमा राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।