सरकारले फागुन २१ गतेका लागि निर्वाचन तोके पनि दलहरुसँग संवाद नगरेका कारण यो संशयको विषय बनेको थियो । तर पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलसँग संवाद बढाएसँगै यो संशय हट्दै गएको छ । तिहारअघि प्रधानमन्त्री कार्कीले कात्तिक ४ गते राजनीतिक दलका प्रतिनिधिसँग वार्ता गरेकी थिइन् । सोही छलफललाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीले बुधबार दल र जेन–जीका प्रतिनिधिसँग त्रिपक्षीय वार्ता गरेकी छन् । वार्तामा संलग्नहरुको धारणा सुन्दा धेरैजना उत्साहित सुनिएका छन् ।
दलका प्रतिनिधिले निर्वाचनलाई साथ दिने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरुले निर्वाचनमा खुलेर साथ दिन प्रतिबद्धतासमेत जनाएका छन् । नेकपा एमालेले जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियारलाई सरकारले फिर्ता नगराउँदासम्म निर्वाचनको वातावरण नबन्ने अडान राखेको छ । निर्वाचनका लागि शान्तिपूर्ण वातावरण बनाउन यो पनि राम्रो सुझाव हो ।
प्रधानमन्त्री कार्कीले यो छलफललाई निरन्तरता दिने बताइसकेकी छन् । निर्वाचन तोकेपछि जेन–जी र दलबीच सार्वजनिकरुपमा भएको यो छलफलले सकारात्मक सन्देश जाने देखिन्छ । यसले एक त चुनावी वातावरण बन्दै जाने छ भने दल र जेन–जी सहमतिको बिन्दुमा पुग्ने छ । भदौ २३ र २४ को जेन–जी विद्रोहपछि बनेको सरकार, दल र जेन–जी समूह एकअर्कासँग सशंकित थिए । जेन–जीले दलका नेताहरुलाई कारबाही गर्नुपर्ने, भ्रष्टाचारमा संलग्न दलका नेताहरुलाई अनुसन्धानमा तानिनुपर्नेलगायतका विषय अगाडि ल्याएका थिए । यी विषयले दलका नेताहरु त्रसित थिए ।
जेन–जीको पहिलो माग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनको मन्त्रीमण्डलका गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्नुपर्छ भन्ने हो । उनै ओलीको दल एमालेलेमात्र निर्वाचनमा सहभागी हुने वातावरण नबनेको बताउँदै आएको छ । यस्तो अवस्थामा अरु ठूला दलले उनलाई साथ दिएको देखिन्न ।
निर्वाचनको वातावरण तयार हुँदै जाँदा एमालेले समर्थन नगरे ओलीलाई पक्राउ गर्ने वातावरण पनि बन्दै जाने देखिन्छ । जसकारण पनि एमाले आफैं पनि बाध्य भएर निर्वाचनमा भाग लिन आउने देखिन्छ । जेन–जी विद्रोहलाई संस्थागत गर्न पनि निर्वाचन आवश्यक छ । प्रतिनिधिसभालाई पटक–पटक विघटनतिर लैजाने र शासन व्यवस्थालाई अराजकतामा लैजाने शासकको विरुद्ध अब नयाँ जनमत लिनैपर्छ । यसका लागि प्रधानमन्त्री कार्कीले चालेको कदम स्वागतयोग्य छ । संवादहीनताको अवस्था अन्त्य भएको छ । यो क्रमले निरन्तरता पाओस् ।