चालु आर्थिक वर्षको ११ महिनामै १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ विपे्रषण (रेमिट्यान्स) नेपाल भित्रिएकोमा सरकार उत्साहित छ । नहुनु पनि कसरी ? स्रोत खुम्चिँदै जाँदा र चालु खर्च उच्च हुँदा राज्य चलाउनै अप्ठेरो अवस्थामा पुगेको सरकारका लागि यो प्राणवायुजस्तै भएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा साउनदेखि जेठसम्म विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढेको देखाउँछ । यसरी हेर्दा विप्रेषण आप्रवाह प्रत्येक महिना औसतमा डेढ अर्ब रुपैयाँभन्दा माथि रहेको देखिएको छ । जेठ महिनामामात्रै एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १७.३ प्रतिशतले बढेको थियो । यस अवधिमा विदेशी विनिमय सञ्चिति १८ अर्ब ६५ करोड अमेरिकी डलर पुगेको छ ।
यी दुई विषयलाई देखाउँदै सरकार आर्थिक स्थिति सुध्रेको दाबी गरेर रमाइरहेको हो । तर रेमिट्यान्स अर्थतन्त्रको सिक्काको एउटा सानो पाटोमात्र हो । अब हेरौं अर्को पाटो व्यापार घाटाको । समीक्षा अवधिमा वस्तु व्यापार घाटा ६.३ प्रतिशतले बढेर १३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । नेपालमा भित्रिने रेमिट्यान्स रकमभन्दा आयात बढी भएको देखाउँछ, पछिल्लो ११ महिना । कूल १६ खर्ब ४४ अर्ब ८० करोड रुपैयाँबराबरको आयातलाई धान्न रेमिट्यान्सले पनि नसक्ने देखिन्छ । जबकि नेपाली उत्पादन निर्यात दुई खर्ब ४७ अर्ब रुपैयाँमा सीमित भएको छ । जसले व्यापार घाटा उच्च कायम भएको छ ।
अर्थतन्त्रको एउटा खम्बाको रुपमा हेरिएको रेमिट्यान्स भित्रिएपछि यसको उपयोग केमा हुन्छ ? यो रकम सदुपयोगमा सरकारले कुनै योजना बनाएको देखिन्न । खाडी मुलुकबाट आएको रेमिट्यान्स युरोप, अमेरिकी देशमा शिक्षा तथा भ्रमणका लागि खर्च हुने देखिन्छ । यस्ता खर्चलाई रोक्ने कुनै तयारी सरकारसँग छैन । यसैगरी भित्रिएको रेमिट्यान्सलाई आत्मनिर्भर बन्नेगरी कुनै उद्योगमा लगानी गर्ने नीति पनि सरकारसँग छैन । रेमिट्यान्सले अहिले अर्थतन्त्रलाई टेको दिने काम गरेको छ । तर, यो सबल अर्थतन्त्र निर्माणका लागि दिगो स्रोत मानिँदैन । रेमिट्यान्समै भर पर्ने नीति राम्रो होइन । बरु, मुलुकभित्रै उत्पादनमूलक उद्योगहरु स्थापना गरी रोजगारी सिर्जना गर्न जरुरी छ । यसो गर्न सकिएमात्रै मुलुकको अर्थतन्त्र दिगो र सबल बन्ने छ ।