काठमाडौं - उदयपुरबाट एक वर्षभित्र नौ हजार युवा रोजगारीका लागि विदेसिएका छन् । जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्यांकअनुसार विसं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको संख्या नौ हजारको हाराहारीमा पुगेको छ ।
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा सीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामी उदयपुरले जनाएको छ । जिल्लाको आठ पालिकामध्ये त्रियुगा, चौदण्डी गढी र कटारी नगरपालिकाबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीका लागि विदेसिएका छन् । गाउँपालिकामध्ये लिम्चुङबुङ, रौतामाई र उदयपुर गढी गाउँपालिकाबाट धेरै युवा विदेसिएका छन् ।
सामी उदयपुरका संयोजक बिजनाकुमारी बस्नेतका अनुसार जिल्लाबाट मलेसिया जाने युवाको संख्या सबैभन्दा धेरै छ । मलेसियापछि साउदी अरब, युएई, कतार र कुवेतमा युवा जाने गरेका उनले बताइन् । जिल्ला प्रहरी कार्यालयका अनुसार २०७९ सालमा मात्रै जिल्लाबाट वैदेशिक रोजगारीमा जाने युवाको संख्या आठ हजार ८६८ जना रहेका छन् ।
‘विगतका वर्षमा सीप तथा तालिम नलिई युवाहरु वैदेशिक रोजगारीमा जाने गरेकाले उनीहरुले विदेशमा धेरै समस्या झेल्नु परेको थियो,’ सामीका संयोजक बस्नेतले भनिन् । अहिले स्थानीय पालिकाको समन्वयमा वैदेशिक रोजगारीमा जान चाहनेलाई कामसम्बन्धी विभिन्न सीप र तालिम दिनुका साथै काम सिकेर जान प्रेरणा, सल्लाह, सुझाव दिन थालेपछि वैदेशिक रोजगारीमा जाँदा समस्या कम आउन थालेको उनले बताइन् ।
यसअघि रोजगारीका लागि जाने युवाले सीपको अभावका कारण कम तलब पाउने, अपहेलित हुनुपर्ने र कम्पनी छाडेर भाग्नुपर्ने जस्ता समस्या झेल्नु परेको बस्नेतले जानकारी दिइन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८० १०:४५