- म्यानपावर कम्पनीका शाखा कार्यालयहरुले श्रमिकलाई आवश्यक सूचना तथा जानकारी नदिएको गुनासो
- श्रमिकलाई स्पष्ट जानकारी दिएर जवाफदेही र जिम्मेवार बन्न निर्देशन
- सम्बन्धित म्यानपावरको मुख्य कार्यालयमा जानकारी गराउँदा शाखाबाट भएका कामको जिम्मेवारी नलिने भन्दै गैरजिम्मेवार जवाफ दिएको पाइएकोप्रति विभागको चासो
- शाखा कार्यालयबाट प्रदान गर्नुपर्ने सेवाबाट पन्छिने, सहजीकरण नगर्ने तथा श्रमिकलाई झूटो आश्वासन दिने काम भएमा त्यसको जिम्मेवार सम्बन्धित म्यानपावर हुनुपर्ने
- वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया सुरु गरेकाहरुलाई लामो समयसम्म नपठाइएको विषयमासमेत गुनासो
काठमाडौं– वैदेशिक रोजगार विभागले श्रमिकप्रति जिम्मेवार नबन्ने म्यानपावरका शाखा कार्यालयको अनुमति रद्द गर्ने चेतावनी दिएको छ। शुक्रबार एक सूचना जारी गर्दै विभागले म्यानपावरका शाखा कार्यालयहरुले श्रमिकलाई आवश्यक सूचना तथा जानकारी नदिएको गुनासो आएको भन्दै उक्त चेतावनी दिएको हो।
विभागले वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाएका श्रमिकलाई स्पष्ट जानकारी दिएर जवाफदेही र जिम्मेवार बन्न इजाजतपत्र प्राप्त संस्थालाई भनेको छ। वैदेशिक रोजगारीका लागि शाखा कार्यालयबाट आवेदन दिएका व्यक्तिले आफ्नो आवेदनको अवस्थाको बारेमा बुझ्न खोज्दा ‘हामीलाई थाहा छैन’, ‘काठमाडौंमा मुख्य कार्यालयमा बुझ्नुहोस्’ भन्ने जवाफ दिने गरेको गुनासो प्राप्त भएको विभागले जनाएको छ।
शाखा कार्यालयका कर्मचारीको यस्तो व्यवहारले आफ्नो आवेदनसम्बन्धी जानकारी लिन काठमाडौं धाउनपर्ने अवस्था सिर्जना भएको पीडितले विभागसमक्ष बताएका छन्। शाखा कार्यालयको यस्तो व्यवहारले श्रमिकलाई अनावश्यक झण्झट र समयको भार थपेकोे जनाइएको छ।
शाखा कार्यालयबाट वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया सुरु गरेकाहरुलाई लामो समयसम्म नपठाइएको विषयमासमेत गुनासो प्राप्त भएको विभागले जनाएको छ। यस विषयमा श्रमिकले सम्बन्धित म्यानपावरको मुख्य कार्यालयमा जानकारी गराउँदा शाखाबाट भएका कामको जिम्मेवारी नलिने भन्दै गैरजिम्मेवार जवाफ दिएको पाइएको विभागको भनाइ छ।
यस्तो अवस्थामा रोजगारीका लागि आवेदन दिने श्रमिक तथा सेवाग्राहीको इजाजतपत्रप्राप्त संस्थाप्रतिको विश्वास घट्न सक्ने विभागले जनाएको छ। साथै, वैदेशिक रोजगार प्रक्रियाको पारदर्शिता र जवाफदेहितामा समेत प्रतिकूल असर पर्न सक्ने विभागको ठहर छ।
सूचनामार्फत विभागले शाखा कार्यालयबाट सेवा लिन आउने श्रमिकलाई आवश्यक सूचना नदिने, गलत वा अपूर्ण सूचना दिने, आवेदनको अवस्थाबारे जानकारी नदिने तथा अनावश्यक रूपमा दुःख दिने काम नगर्न सचेत गराएको छ।
त्यस्तै, शाखा कार्यालयबाट प्रदान गर्नुपर्ने सेवाबाट पन्छिने, सहजीकरण नगर्ने तथा श्रमिकलाई झूटो आश्वासन दिने काम भएमा त्यसको जिम्मेवार सम्बन्धित इजाजतपत्रवाला संस्था नै हुने विभागले स्पष्ट पारेको छ। रोजगारीमा जान खोजेका व्यक्तिले माग्ने सूचना समयमा उपलब्ध गराउने व्यवस्था मिलाउन पनि शाखा कार्यालयलाई निर्देशन दिइएको छ।
विभागका अनुसार श्रमिकले आवश्यक कागजात, रोजगारदाता, रोजगारीको अवस्था, भिसा, रोजगार सम्झौता, श्रम स्वीकृतिलगायतका जानकारी माग्दा इजाजतपत्र प्राप्त संस्थाले स्पष्ट र सही सूचना दिनुपर्ने छ। श्रमिकले जान्न खोजेको विषयमा सही सूचना नदिने इजाजतपत्र प्राप्त संस्थामाथि वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली, २०६४ तथा प्रचलित कानुनबमोजिम कारबाही गर्ने विभागले प्रस्ट पारेको छ।