काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया रोजगारी बन्द गर्नुपर्ने स्थिति आए पनि एकाधिकार (सिण्डिकेट) स्वीकार्य नहुने जनाएको छ। संघले सोमबार पत्रकार सम्मेलन गर्दै मलेसियाको रोजगारी बन्द हुने डर देखाएर सिण्डिकेट लागू गर्न खोजे स्वीकार्न नसकिने स्पष्ट पारेको हो।
मलेसियाको रोजगारी बन्द गर्ने आफूहरुको चहना नभए पनि उक्त मुलुकको रोजगारी खुलाउने नाममा नेपालको कानुनभन्दा माथि सीमित संस्थालाई स्थापित गर्न खोज्ने प्रणाली कुनै पनि हालतमा मान्य नहुने संघका अध्यक्ष डिकबहादुर खत्रीले बताए। कूटनीतिक प्रयासमार्फत सरकारले तत्काल यसको समाधान खोज्नपर्ने उनको भनाइ छ।
‘श्रमिकहरुलाई आर्थिक भार पार्ने गरी स्थाापित भएका एकाधिकार मानेर त्यो श्रम गन्तव्यमा श्रमिक पठाउनपर्छ भने बन्द भएकै राम्रो,’ खत्रीले भने, ‘तर यथाशिघ्र नेपाल सरकारले कुशल कूटनीतिक संवादमार्फत यथास्थितिमा नै त्यो श्रम गन्तव्यमा श्रमिक पठाउने व्यवस्था गरेर हल खोज्नुपर्छ भन्ने हाम्रो प्राथमिकता हो।’
नेपाल सरकारले इजाजत दिएका संस्थालाई कुनै विदेशी निजी प्रणालीले अयोग्य घोषणा गर्नु भनेको राज्यकै नियामक अधिकारमाथिको प्रश्न भएको संघको ठहर छ। श्रमिक लैजान बन्द हुने डरले एकाधिकार स्वीकार्दै गए नेपालको श्रम आप्रवासन बाह्य निजी प्रणाली र स्वार्थ समूहको हातमा जाने खतरा संघले औंल्याएको छ।
संघले यो समस्याको समाधान गरी नियमित प्रक्रियाबाट श्रमिक भर्ना सञ्चालन गर्नुपर्ने, मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्ल्युसिएमएस)मा सूचीकृत व्यवसायीको पारदर्शी तवरबाट छानबिन गर्नुपर्ने, मलेसियामा सुरक्षित र सम्मानजनक वैदेशिक रोजगार सुनिश्चित गर्नुपर्नेलगायतका माग राखेको छ।