काठमाडौं– सरकारले सञ्चालनमा ल्याएको सीप तथा रोजगार मेलामार्फत युवाहरुले रोजगारी पाउन थालेका छन्। हाल कोशी प्रदेशअन्तर्गत सुनसरीको इटहरीमा मेला आयोजना भइरहेको छ। शनिबारसम्म ६६ जनाले रोजगारीको अवसर पाएका युवा, श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले चालु आर्थिक वर्षमा देशभर एक लाख रोजगारी सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गरेको जनाएको छ। इटहरीमा जारी मेलामा सीप सिक्ने, रोजगारी खोज्ने र अवलोकन गर्नका लागि दैनिक करिब पाँच हजारको उपस्थिति रहेको जनाइएको छ। मंगलबारसम्म सञ्चालन हुने मेलाबाट सामान्य प्रकृतिका सीप नभएर पनि रोजगारीको अवसर गुमाइरहेकाहरुले बढी फाइदा लिन सक्ने मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले बताइन्।
‘सरकारले प्लेटफर्म उपलब्ध गराइदिएको छ। त्यो अनुसारको सीप सिकेर रोजगारी खोज्न सक्नुहन्छ,’ उनले भनिन्, ‘कतिपयले सामान्य प्रकृतिको सीप नहुँदा पनि रोजगारीको अवसर गुमाइरहेको अवस्था हुन्छ। जस्तोः कफी मेकिङ, नेल आर्ट, कपाल काट्ने, अचार बनाउनेजस्ता सामान्य स्किलका लागि यसले सपोर्ट गर्छ।’
मन्त्रालयले सञ्चालन गरेको रोजगार मेलाको वेबसाइटमा शनिबारसम्म ५३३ रोजगारदाता जोडिएका, छ हजार ६१२ रोजगार खोजकर्ता आएका, ४४२ वटा पद प्रकाशित गरिएको र छ हजार ५०० रिक्त पद रहेका जनाइएको छ।
मन्त्रालयका अनुसार रोजगारी खोज्नेहरुको ‘जब म्याचिङ’पछि चौधरी ग्रुप, भाटभटेनी सुपरमार्केट, रिलायन्स स्पिनिङ मिल्स, एसियन फुड्सलगायतका कम्पनीमा रोजगारीको अवसर पाएका छन्। मेलामा एआई ट्रेनिङ, बारिस्टा, अचार बनाउने, एसी मर्मत, सिटी सफारी इभी मर्मत, कुक र वेटर, मेकअप तथा नेल आर्टस, आतिथ्य सत्कार, ग्रहक सेवा तथा सञ्चार कला, डिजिटल मार्केटिङ, आधारभूत लेखा, उद्यमशीलता विकास र व्यावसायिक योजनालगायतका १० वटा विधामा तालिम लिन सकिने मन्त्रालयको भनाइ छ। ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने नाराका साथ सुरु गरिएको मेला चालु आर्थिक वर्षमा सातै प्रदेशमा आयोजना गरिसक्ने जनाइएको छ। कोशी प्रदेशमा सकिएपछि निर्देशक समितिको बैठक बसेर अन्य प्रदेशमा गर्नेबारे थप निर्णय हुने मन्त्रालयको भनाइ छ।
पछिल्लो समय स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै रोजगारीको खोजीमा युवाहरु विदेसिने क्रम बढ्दो छ। गत आवमा सात लाख ९१ हजारभन्दा बढी युवा रोजगारीको खोजीमा विदेसिएका थिए। रोजगारी नपाएरै विदेसिनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न भन्दै सरकारले आव २०८३/८४ देखि २०९२/९३ लाई रोजगार प्रवद्र्धन दशक घोषणा गरेको छ। यस्ता कार्यक्रमले रोजगारी नै नपाएर विदेसिनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै जाने प्रवक्ता आचार्यले बताइन्। मेलामा छोटो अवधिका तालिम प्रदान गरिए पनि सीप सिक्ने व्यक्तिलाई कुनै न कुनै रुपमा उपयोगी हुने उनको भनाइ छ।
‘मानिसहरु यहाँ काम नै नपाएर विदेश गएका हुन् या यहाँभन्दा राम्रो सुविधा प्राप्त गर्न सकिन्छ भनेर विदेसिने गरेका छन्, त्यसको पहिचान पनि आवश्यक छ,’ उनले भनिन्, ‘यद्यपि यस्ता कार्यक्रमले विदेश जाने मनस्थिति बनाइरहेकाहरुलाई यहाँ पनि अवसर छ है भनेर देखाउन सहयोग गर्छ। साथै सीप भनेको अवसर पनि हो। सीप सिकेपछि स्वदेशीमात्र नभएर विदेशी रोजगारीको सन्दर्भमा पनि प्रयोग गर्न सकियो।’
मेलामा सहभागीहरुले विभिन्न सीपमूलक तालिम लिन, रोजगारदातासँग भेटघाट र नयाँ अवसरको जानकारी लिन सक्ने छन्। इटहरीको मेलामा ६५ वटा स्टल राखिएका छन्। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र निजी क्षेत्रसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। युवाहरुलाई सीपयुक्त बनाउँदै मुलुकमा रोजगारी सिर्जना गर्न सरकारले यस्ता मेलाका साथै, अन्य कार्यक्रमहरु पनि आयोजना गर्दै जाने जनाइएको छ।