काठमाडौं - चालु आर्थिक वर्षको नौ महिनामा रोजगारीका लागि करिब पौने चार लाख नेपाली विदेशिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत चैत मसान्तसम्म वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जान तीन लाख ८७ हजार ८३९ जना नेपालीले श्रम स्वीकृति लिएका हुन् ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले बढेको राष्ट्र बैंकले बुधबार सार्वजनिक गत चैत मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले बढेर दुई लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २४.२ प्रतिशतले बढेर नौ खर्ब तीन अर्ब ३९ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । यो विदेशमा रहेका नेपालीले औपचारिक माध्यमबाट पठाएको रकम हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १२:३९