काठमाडौं - सरकारले वैदेशिक रोजगारीबाट फर्केका नेपालीलाई दुईवटासम्म मोबाइल ल्याउन दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै विदेशबाट फर्किएका नेपालीले आफ्नो साथमा बढीमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।
यसअघि विदेशबाट फर्किंदा आफूले प्रयोग गरेको एउटामात्र मोबाइल भन्सार प्रक्रिया पूरा गरेर ल्याउन पाउने कानुनी व्यवस्था रहेको थियो ।
उक्त व्यवस्थाका कारण त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कयौं मोबाइल खोसिने र आर्थिक चलखेल हुने गरेको गुनासो आउने गरेको थियो ।
मन्त्रिपरिषद्को यस निर्णयसँगै अब श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कम्तीमा छ महिना काम गरी फर्केका नेपालीले आफ्नो साथमा थप एक थान नयाँ मोबाइल फोन ल्याउन पाउने छन् ।
तर, यो निर्णय लागू हुन केही समय लाग्ने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार सञ्चार र श्रम मन्त्रालयले आवश्यक गृहकार्य गरी छिट्टै उक्त निर्णय कार्यान्वयन गरिनेछ ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १०:११