काठमाडौं - वैदेशिक रोजगारीका लागि विकसित मुलुकमा गएर धेरै पैसा कमाउने प्रलोभनमा परी १०० भन्दा बढी व्यक्ति ठगीमा परेको पाइएको छ । अमेरिका, बेलायतलगायतका विभिन्न मुलुकमा रोजगारीका लागि पठाइदिने भन्दै पीडितहरुबाट साढे तीन करोड रुपैयाँभन्दा बढी रकम संकलन गर्ने ठगी गिरोहका सदस्य पक्राउ परेपछि ठगीधन्दा सार्वजनिक भएको हो ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ६८ वर्षीय सीताराम बास्तोलालगायतका समूहको मिलेमतोमा अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाउने भन्दै ठगी गरेका भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
ठगी गर्ने समूहले मासिक चार लाख रुपैयाँभन्दा बढी तलब हुने भनी विश्वास दिलाई प्रतिव्यक्ति ३० लाख खर्च लाग्ने र सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने लोभ देखाएर ठगी गरेको भेटिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
गिरोहले पीडितहरुबाट पटक–पटक गरी जम्मा तीन करोड ५६ लाख आठ हजार रुपैयाँ लिएर फरार भएकामा वैदेशिक रोजगार विभागको अनुरोधमा यसरी फरार भएकामध्ये भक्तपुरका सीताराम बास्तोलालाई आइतबार पक्राउ गरिएको रेग्मीले बताए । उनलाई थप अनुसन्धान र कारबाहीका लागि विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० ११:४०