काठमाडाैं -साउदीका विभिन्न स्थानमा कार्यरत नेपालीहरूका लागि पायक पर्ने स्थानबाटै राहदानी सेवा प्रदान हुने भएको छ । नेपाली श्रमिकहरूलाई राहदानी बनाउनकै लागि दूतावास धाउन समस्या हुने गरेकाले पायक पर्ने स्थानबाट राहदानी सम्बन्धी सेवा दिने तयारी गरेकाे दूतावासले जनाएको हाे ।
यसअन्तर्गत अप्रिल २८ र २९ का दिन दूतावासले साउदीको अल फैसलिया दमाममा राहदानीको आवेदन सङ्कलन शिविर सञ्चालन गर्ने भएको छ ।साउदी अरबको पूर्वी क्षेत्रको दमामको अल असेम रेष्टहाउस फर फेस्टिभल, अल फैसलियामा शिविर राख्ने दूतावासले जनाएको छ ।
दूतावासका अनुसार राहदानीको आवेदन बिहान ७ बजेदेखि बेलुकी पाँच बजेसम्म सङ्कलन हुनेछ । दूतावासको शिविरमा आवेदन बुझाउन जाँदा अनलाइनमार्फत प्रि इनरोल गरेको बार कोडयुक्त फारम लैजानु पर्ने बताइएकाे छ । अनलाइनबाट फारम नभरी सिधै शिविरमा जाँदैमा राहदानीको आवेदन दिन पाइँदैन । राहदानीमा फोटो भएको पेज र पेज नम्बर ३१ को फोटो कपी गरेर लैजानु पर्नेछ ।
यस्तै हराएको राहदानी नवीकरण गर्नु पर्ने हो भने प्रहरी रिपोर्ट वा कम्पनीले दूतावासलाई सम्बोधन गरेर लेखेको पत्र पनि साथमा लैजानु पर्नेछ । राहदानीको म्याद सकिन ६ महिनाभन्दा कम समय बाँकी रहेकाहरूले राहदानी नवीकरणका लागि आवेदन फारम भर्न सकिन्छ ।
राहदानी बनाउन दुई सय साउदी रियाल दस्तुर लाग्ने छ । तर राहदानी हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भएमा भने साउदी रियाल चार सय लाग्ने दूतावासले बताएकाे छ । दूतावासले साउदीको विभिन्न सहरमा छरिएर रहेका नेपालीका लागि दूतावास आउन लाग्ने समय र समस्यालाई मध्यनजर गर्दै विभिन्न सहरहरूमा राहदानी सङ्कलनको शिविर राख्दै आएको छ ।