काठमाडौं- वैदेशिक रोजगार बोर्डको सचिवालयले सेवा सहजीकरण गर्ने बहानामा बिचौलियाहरुले मृतकको घरमा वा अंगभंग भएका व्यक्तिका आफन्तसम्म पुगेर आर्थिक चलखेल गर्ने गरेको पाइएको जनाउँदै सचेत गराएको छ ।
वैधानिकरुपमा श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका श्रमिकको मुत्यु वा कुनै दुर्घटनामा परी अंगभंग भएमा सरकारले प्रमाणीकरणका आधारमा आर्थिक सहायता उपलब्ध गराउने बताउँदै बोर्डले बिचौलियाको चलखेलप्रति सचेत रहन सम्बन्धित सबैलाई आग्रह गरेको हो ।
बोर्ड सचिवालयले बुधबार एक सूचना जारी गरी आर्थिक सहायताका लागि निवेदन दिने सेवाग्राहीहरूलाई बिचौलियाबाट सजग रहन आग्रह गर्दै र कानुनबमोजिम बोर्ड सचिवालय र वैदेशिक रोजगार म्यादी जीवन बिमाबाट आर्थिक सहायता प्राप्त गर्ने व्यवस्था रहेको प्रस्ट पारेको छ ।
आर्थिक सहायताका लागि तोकिएको ढाँचामा आवश्यक कागजपत्रहरु संलग्न गरी स्थानीय तहमार्फत निवेदन दिन सकिने व्यवस्था रहेको उल्लेख गर्दै यसका लागि भौतिकरुपमा बोर्ड सचिवालय धाउनु नपर्ने सूचनामा जनाइएको छ ।
बोर्ड सचिवालयबाट उपलब्ध गराइने कल्याणकारी सेवाका लागि बिचौलियाको सहयोग लिनु नपर्ने, कुनै समस्या एवं द्विविधा भएमा प्रत्यक्ष फोन, इमेल वा कल सेन्टरबाट जानकारी लिनसक्ने सूचनामा उल्लेख छ ।
बोर्डले यस्तो व्यवस्था हुँदाहुँदै पनि कल्याणकारी तथा बिमा सुविधा उपलब्ध गराइदिने भन्दै बिचौलियाले प्रभावमा पारी विभिन्न बहानामा रकमको माग गर्ने गरेको जानकारीमा आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
‘वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंग/भंग वा उपचारका लागि प्राप्त हुने आर्थिक सहायता तथा बिमा रकम प्राप्त गर्नका लागि कुनै असम्बन्धित व्यक्तिं र बिचौलियाको भर/विश्वासमा नपर्न, कुनै पनि बहानामा रकम नदिन तथा आफ्नो बैंकसँग सम्बन्धित कागजात (चेक, एटिएम कार्ड)लगायतका महŒवपूर्ण कागजातहरु सुरक्षित राख्नुहुन अनुरोध छ,’ बोर्ड सचिवालयले भनेको छ ।
यदि कसैले कुनै पनि बहानामा दुःख दिएमा वा रकम माग गरेमा तत्काल जिल्ला प्रशासन कार्यालय, नजिकको आप्रवासी स्रोत केन्द्र वा प्रहरीमा उजुर गर्न बोर्डले आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९ ०९:३१