काठमाडाैं - श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको समस्या सुन्ने कल सेन्टरको नाम परिवर्तन गरी श्रमाधान राखेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै कल सेन्टरको नाम परिवर्तन गर्दै श्रमाधान राखेका हुन् ।
मन्त्री अर्यालले श्रमाधानमार्फत श्रमिकको समस्या सुन्ने र प्रभावकारी रूपमा समाधान गर्ने संयन्त्रको विकास गर्दै कल सेन्टरको नाम परिवर्तन गरेको बताए ।
मंगलबारदेखि नै श्रमाधानमा २४ घण्टा नै फोन गरेर श्रमिकले आफ्ना समस्या राख्न सक्ने छन् । श्रमिकले राखेको समस्या समाधान गर्नका लागि छ महिनाभित्र टाइम कार्डसमेत लागू गर्ने मन्त्री अर्यालले बताए ।
उनले भने, ‘श्रमिकले राख्नुभएको समस्याको आधारमा समाधानमा कति समय लाग्ने भन्ने निर्धारण गरिन्छ र तोकिएको समयमा समस्या समाधान गर्न सकिएन भने के कारणले सकिएन भनेर कारण पनि दिइने छ ।’
यसका साथै मन्त्रालयले श्रमाधानको आफ्नो छुट्टै मोबाइल एपसमेत ल्याउने भएको छ । मोबाइल एपमार्फत नै श्रमिकले आफ्नो समस्या राख्न सक्नेछन् ।
मोबाइल एपबाट राखेको समस्या समाधानमा पनि टाइम कार्ड लागू हुने छ । श्रमाधानमा ११४१ वा ९८०१८०००१३ नम्बरमा सम्पर्क गर्न सकिन्छ भने ९८०१८०००१३ नम्बरमा भाइबर र इमोसमेत उपलब्ध छ ।
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९ १९:५१