काठमाडौं– पछिल्लो चार महिनामा मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका १११ नेपाली स्वदेश फर्किएका छन् । अवैधरुपमा मलेसियामा रहेको बेला अध्यागमनको नियन्त्रणमा पुगेका उनीहरु क्वालालम्पुरस्थित नेपाली दूतावासको सहयोगमा नेपाल फर्कन सफल भएका हुन् ।
बिहीबारमात्रै मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका ११ नेपाली स्वदेश फर्किएका छन् । उनीहरुलाई दूतावासको सहयोगमा क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पु¥याइएको थियो ।
गत साउनदेखि कात्तिक मसान्तसम्म मलेसियाका विभिन्न अध्यागमन सेन्टरमा रहेका १११ नेपाली दूतावासको सहयोगमा उद्धार भई स्वदेश फर्किएको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले जानकारी दिए ।
सो अवधिमा मलेसियामा अवैधानिक भई बिरामी/अलपत्र भएका ५२ नेपाली नागरिक स्वदेश फर्केको दूतावासले जनाएको छ । उनीहरुलाई दूतावासको सहयोगमा अध्यागमनसम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न गरी नेपाल फर्काइएको हो ।
मलेसियाको अध्यागमनले नियन्त्रणमा लिएका नेपालीलाई दूतावासले समन्वय गरी स्वदेश फर्काउँदै आएको छ ।
तस्बिरः नेपाली दूतावास मलेसिया
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९ ०९:२८