काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले ९० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना पुगेको अवसर पारेर मन्त्री कुँवरले प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
मंगलबार पत्रकार सम्मेलन गरी उनले मन्त्री पदमा पदवहाली गरेपछिको अवधिमा मन्त्रालय र यसअन्तर्गतका निकायबाट हासिल गरेका प्रगति तथा उपलब्धिहरुका बारेमा जानकारी दिए । त्यस क्रममा मन्त्री कुँवरले अहिले टड्कारो रुपमा देखिएको वैदेशिक रोजगारसम्बन्धी विषय सबैको चासोको विषय रहेको बताए । सीपसहितको आन्तरिक रोजगारीको सुनिश्चितता नहुँदासम्म मुलुकबाट बाध्यात्मक रुपमा वैदेशिक रोजगारीमा जाने प्रक्रिया रोक्न गाह्रो हुने बताए ।
उनले वैदेशिक रोजगारी मात्र नभई मुलुकभित्रै पनि ठूलो संख्यामा रहेका अनौपचारिक श्रमिकहरुलाई औपचारिक बनाउँदै लिएर जाने प्रक्रियामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) सँगको प्राविधिक सहयोगमा राष्ट्रियस्तरमा दक्षिण एसियामै पहिलोपटक नेपालमा अनौपचारिकताको निदानसम्बन्धी कार्ययोजना बनाउने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।
मन्त्री कुँवरद्वारा सार्वजनिक ९० दिने कार्यकालको विवरणमा प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना, रोजगार प्रवद्र्धन कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पुनःएकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुनेगरी कार्यान्वयन गरिएको उल्लेख छ । जसमा स्वीस सरकारको सहयोगमा संघीय, प्रादेशिक र स्थानीय तहमा सञ्चालन हुनेगरी वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुका लागि पुनःएकीकरण कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको र दक्षिण कोरिया सरकारसँग पनि उल्लिखित कार्यक्रम सञ्चालनका लागि द्धिपक्षीय सहयोग सम्झौता सम्पन्न भएको जनाइएको छ । उक्त कार्यक्रम सञ्चालनका लागि पुनःएकीकरणसम्बन्धी निर्देशिका, २०७९ स्वीकृति गरिएको छ ।
श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्यस्थलको पहिचान गर्नेसम्बन्धी प्रतिवेदन तयार भई तदनुरुप जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको र बजारमा उपलब्ध जनशक्तिलाई सीपयुक्त बनाएर रोजगार, स्वरोजगार र उद्यमशीलता अभिवृद्धि गर्न मन्त्रालय मातहतका निकायबाट सीप विकास तालिम सञ्चालन गर्ने कार्यक्रम प्रस्ताव गरिएको मन्त्री कुँवरले उल्लेख गरे ।
यसैगरी वैदेशिक रोजगारीका लागि बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीमा हस्ताक्षर गरी कार्यान्वयनको चरणमा रहेको, रोमानियामा प्रवेशका लागि आवश्यक भिसा प्रक्रियालाई सरल बनाउन ‘अस्थायी रोमानियन मिसन’ स्थापना गरिएको, ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका,२०७८’ समसामयिक बनाउन र कृषि–कामदार लैजाने सम्बन्धमा आवश्यक अध्ययन गरी कार्ययोजना तर्जुमा गर्न कार्यदल गठन भएको प्रगति विवरणमा उल्लेख छ ।
यस्तै श्रम स्वीकृति तथा पुनःश्रम स्वीकृतिलाई पूर्णरुपमा अनलाइन प्रणालीमा आबद्ध गराउँदै सातवटै प्रदेशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिको व्यवस्था गरिएको उनले बताए । नेपाली श्रमिकहरुको हकहितलाई ध्यानमा राखी साउदी अरेबिया, सेसेल्ससँग नयाँ श्रम सम्झौता एवं संयुक्त अरब इमिरेट्स, मलेसिया र कतारसँग भएका श्रम सम्झौतालाई समसामयिक परिमार्जन गर्ने कार्य प्रारम्भ भएको जनाइएको छ ।
वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका साथै राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन मार्सल टिम, शीघ्र प्रत्युत्तर टोली (आरआरटी) गठन गरी ठगी नियन्त्रण कार्यलाई प्रभावकारी बनाइएको, वैदेशिक रोजगार विभागमा प्राप्त निवेदनहरुका आधारमा पीडितलाई चालु आर्थिक वर्षमा पीडकवाट ४८ करोड चार लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको श्रममन्त्रीको विवरणमा उल्लेख छ ।
यस्तै सामाजिक सुरक्षा क्षेत्र सामाजिक सुरक्षा कोष योजना सञ्चालन मार्गदर्शन स्वीकृत गर्दै विभिन्न १० प्रकारका घातक रोग लागेमा सेवा अवधिभर एकै पटक वा पटक–पटक गरी १० लाख रुपैयाँसम्म उपचार खर्च प्रदान गर्ने व्यवस्था गरिएको उनले बताएका छन् ।
वैदेशिक रोजगार नीति २०६८, वैदेशिक रोजगार ऐन, २०६४ र श्रम ऐन, २०७४ लगायतका नीति तथा कानुनलाई समसामयिक परिमार्जन गर्न मन्त्रालय र सरोकारवालाको प्रतिनिधित्व हुनेगरी विषयगत कार्यटोली गठन भई कार्य प्रारम्भ भइसकेको प्रगति विवरणमा जनाइएको छ । यस्तै वैदेशिक रोजगारलगायतका श्रम क्षेत्रमा रहेका समस्या तथा गुनासोलाई सम्बोधन २०७६/०५/०५ गते देखि प्रत्येक आइतबार बिहान ११ देखि १२ बजेसम्म ‘श्रमिकसँग श्रममन्त्री कार्यक्रम’ सञ्चालन गरिएको विषयलाई महत्वका साथ प्रगति विवरणमा समावेस गरिएको छ ।
मन्त्री कुँवरले उल्लिखित प्रगति विवरण सार्वजनिक गर्दै वैदेशिक रोजगारी तथा अन्तरिक श्रम क्षेत्रमा मन्त्रालय मातहतका निकायले प्रदान गर्ने सेवा प्रवाह सरलता, सहजता, पारदर्शितासँगै सुशासन प्रवद्र्धन हुनेमा विश्वस्त रहेको बताए ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९ ०९:०४