काठमाडौं- वैदेशिक रोजगारीको लागि रोमानिया र दुबई पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम लिएर फरार रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रोमानियामा फुड प्याकेजिङसम्बन्धी आकर्षक रोजगारी दिलाइदिने भन्दै एक जनाले १७ लाख ७५ हजार रुपैयाँ र अर्कोले दुबईमा आम्र्स गार्डको रोजगारीमा पठाइदिने भन्दै ३८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
फरक–फरक दुई घटनामा ५५ लाख ७५ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । रोमानिया पठाइदिने लोभ देखाएर श्रीया सुवेदीलगायत पीडितसँग १७ लाख ७५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर सल्लाघारी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध स्थायी घर भएकी २० वर्षीय पुनमाया श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो ।
श्रेष्ठले सुवेदीसहितका पीडितलाई रोमानिया जानका लागि प्रतिव्यक्ति छ लाख रुपैयाँ लाग्ने र त्यहाँको एक प्रतिष्ठित फुड प्याकेजिङ कम्पनीमा ७५ हजार रुपैयाँ तलब हुने भनी प्रलोभनमा पारेर रकम संकलन गरी फरार भएको बताइएको छ । प्रतिव्यक्ति ७५ हजार रुपैयाँका दरले रकम संकलन गरी फरार रहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै, गत शुक्रबार दुबई पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौंको गोंगबु बस्ने नवलपरासी प्रतापपुर स्थायी घर भएका ५४ वर्षीय भोजबहादुर चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । दुबईको आम्र्स गार्डमा आकर्षक रोजगारीको प्रलोभन देखाई वर्किङ भिसामा दुबई जानका लागि आठ लाख रुपैयाँ लाग्ने र त्यहाँ मासिक एक लाख रुपैयाँ कमाइ हुने भन्दै नरबहादुर थतेनसहितका पीडितसँग ३८ लाख रुपैयाँ लिई फरार भएको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनलाई पनि उपत्यका अपराध अनुसन्धान कार्यालयबाटै खटिएको प्रहरी टोलीले सामाखुसीबाट पक्राउ गरेको हो ।उनीहरु दुवै जनालाई वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन भनेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई विभागमा बुझाएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९ ११:५७