काठमाडौं- वैदेशिक रोजगार विभागले मुलुकभित्र म्यानपावर कम्पनीहरुलाई नयाँ शाखा खोल्न अनुमति नदिएको प्रस्ट पारेको छ । हालैका दिनमा केही अज्ञात व्यक्ति तथा समूहले इजाजतपत्र प्राप्त संस्थाहरुलाई देशभित्र नयाँ शाखा खोल्न पाइने भन िप्रचार गरेको सुनिन आएको भन्दै विभागले त्यस्तो कुनै अनुमति नदिएको प्रस्ट पारेको हो ।
विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्थाहरुलाई स्वदेशमा नया“ शाखा कार्यालय खोल्न अनुमति दिने कार्य विगत केही वर्षदेखि अहिलेसम्म स्थगित नै रहेको जानकारी दिएको छ ।
विभागले भनेको छ, ‘हालैका दिनमा केही अज्ञात व्यक्ति तथा समूहहरुद्वारा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र यस विभागको हवाला दिँदै शाखा कार्यालय खोल्ने अनुमति खुला गरेको भनी प्रचार गर्दै हिँड्ने गरेको भन्ने सुन्नमा आएकोले उक्त कुरा झूठा तथा भ्रामक भएकाले सोको पछाडि नलाग्नुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’
नयाँ शाखा खोल्न अनुमति दिएको भन्ने हल्ला चलेस“गै विभागले म्यानपावर कम्पनीहरुलाई यसअघि मुलुकभित्र शाखा कार्यालय सञ्चालनमा रहे/नरहेको अध्यावधिक गराउन पत्राचारसमेत गरेको छ ।
विभागले यही भदौ १२ गतेसम्मको समयसीमा तोकेर म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय सञ्चालन गर्न विभागबाट अनुमति लिएको मिति, कार्यालय सञ्चालनमा आएको मिति, कार्यालयको ठेगाना र सम्पर्क नम्बर तथा शाखा प्रमुखको नाम थर र ठेगाना उल्लेख गरी अनिवार्य उपलब्ध गराउन आग्रह गरेको छ ।
०००
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ १०:१९