काठमाडौं - नेपालले अफ्रिकी मुलुक सेसेल्सस“ग गर्ने भनिएको श्रम सम्झौताका लागि अझै कुर्नुपर्ने भएको छ । यसअघि दुई देशबीच श्रम सम्झौताका लागि प्रक्रिया अगाडि बढाउन सहमति भए पनि अझै टुंगो लाग्न सकेको छैन ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सेसेल्सका समकक्षी प्याट्रिकिया फ्यार्नकोर्टबीच सेसेल्समा भएको मन्त्रीस्तरीय छलफलमा नेपालबाट कामदार लैजाने विषयमा सम्झौता गर्ने सहमति भएको थियो । श्रम मन्त्रालयले त्यतिखेर संयुक्त कार्यदल बनाएर एक महिनामा नै सम्झौतालाई टुंगोमा पुर्याउने जनाएको थियो ।
मन्त्रीसहितको एक प्रतिनिधिमण्डलले गत चैत ४ गते तीनदिने सेसेल्स भ्रमण गरेको थियो ।मन्त्रालयको प्रतिनिधिमण्डलमा सहभागीमध्येका एक उपसचिव डा. थानेश्वर भुसालका अनुसार सेसेल्ससँग श्रम सम्झौता गर्ने सहमतिपश्चात् नेपालले आवश्यक प्रावधान समेटेर पत्राचार गरिसकेको छ ।
‘श्रम सम्झौता गरेर हामी नेपाली कामदार पठाउन तयारै छौं,’ भुसालले प्रभावसँग भने, ‘नेपाल सरकारले मन्त्रीस्तरीय निर्णय गरेर सबै डकुमेन्ट पठाइसकेको छ, हामीबाट केही कुरा रोकिएको छैन, सेसेल्सले डिपार्टमेन्ट अफ लस“ग छलफल हुँदै छ भन्ने जानकारी दिएको छ । उताबाट प्रतिक्रिया आएपछि प्रक्रिया अगाडि बढ्छ ।’
सेसेल्स सानो अफ्रिकी टापु मुलुक भए पनि रोजगारीका लागि आकर्षक गन्तव्य मानिन्छ । अहिले थुप्रै नेपालीहरु मोटो रकम बुझाएर बिचौलियामार्फत सेसेल्स पुग्ने गरेका छन् । बिचौलियामार्फत हुने गतिविधि रोक्न र कामदारको हितमा दिर्घकालीन फाइदा हुने गरी मन्त्रालयले श्रम सम्झौताका लागि पहल गरिरहेको भुसालले बताए । उनले सेसेल्सको केही आन्तरिक समस्याका कारण पनि श्रम सम्झौता अघि बढाउन केही ढिलाइ भएको बुझिन आएको बताए ।
उताबाट श्रम सम्झौताका लागि प्रतिक्रिया आएपछि कसरी र कस्ता कामदार पठाउने भन्नेबारे टुंगो लाग्ने भुसालले बताए । सेसेल्सले औपचारिकरूपमा नेपाल सरकारसँग निश्चित क्षेत्र तोकी कामदार लैजाने रुचि देखाएकोप्रति भुसालले भने, ‘हामीले पेसा नै किटान गरेर कामदार पठाउने भन्दा पनि मागअनुसारको कामदार पठाउनसक्ने गरी ड्राफ्ट गरेका छौं ।’
उनका अनुसार जुन क्षेत्रमा कामदारको माग आए पनि सरकारको नीतिअनुसार ‘इम्प्लोएर पे मोडल’अन्तर्गत सम्झौता हुनेछ, जसमा रोजगारदाताले नै कामदारको सबै खर्च व्यहोर्नुपर्छ । खुला र उदार अर्थव्यवस्था भएको सेसेल्समा आप्रवासी कामदारको माग उच्च माग रहेको बताइन्छ ।
तीन दशक लामो कूटनीतिक सम्बन्ध भएको सेसेल्ससँग सरकारले लिएको पहलअनुसार छिट्टै श्रम सम्झौता भए नेपाली कामदारले सुरक्षित रोजगार र राम्रो पारिश्रमिक पाउने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९ ०९:०२