काठमाडौं- सरकारले ‘वैदेशिक रोजगारी पुनःएकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७९’ स्वीकृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात महिना अगाडि पेस गरेको उक्त निर्देशिका बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।
वैदेशिक रोजगार बोर्डले निर्देशिका तयार पारी २०७६ सालमै श्रम मन्त्रालयमा पठाएको थियो । बोर्डले कार्यविधि बनाएर मन्त्रालयमा पेस गरेको निर्देशिकाको मस्यौदालाई मन्त्रालयले स्वीकृत मन्त्रिपरिषद्मा लगेको थियो । श्रम गन्तव्य मुलुकबाट फर्केका कामदारलाई तत्काल पुनःस्थापना तथा स्वरोजगार बनाउने योजनाअन्तर्गत बोर्डले निर्देशिका तयार पारेको थियो ।
बोर्डले निर्माण गरेका कार्यक्रममा विभिन्न कारणले विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकलक्षित स्वरोजगारमूलक पुनःएकीकरण कार्यक्रम पहिलो चरण सञ्चालन गर्न भनिएको थियो । तीन वर्षको अन्तरालमा निर्देशिका स्वीकृत भएपछि कार्यान्वयनमा आएको बोर्डले जनाएको छ ।
अब सोही निर्देशिकाअनुसार स्थानीय तहसम्म पुनःएकीकरणको कार्यक्रम सञ्चालन हुने बोर्डले जनाएको छ । अब आगामी आर्थिक वर्षदेखि निर्देशिकाअनुसार कार्यक्रम सञ्चालन हुनेछ ।
यी हुन् निर्देशिकामा रहेका मुख्य बँदाहरुः
मन्त्रिपरिषद्बाट स्वीकृत भएको निर्देशिकामा वैदेशिक रोजगारमा अलपत्र परेका कामदारको उद्धार र गम्भीर प्रकृतिको बिरामीसमेतलाई लक्षित गरी सहयोग गर्ने उल्लेख छ ।
नेपाल फर्किएका कामदारहरुलाई मनोपरामर्शसहितको स्वरोजगार तथा उद्यमशीलता कार्यक्रमका लागि प्राविधिक सहयोग गर्ने, वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्याका कारण स्वदेश फर्किएका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषको आर्थिक क्षमता अनुसार पुनःएकीकरण कार्यक्रम सञ्चालनमा ल्याइने बताइएको छ ।
यसैगरी सरकारले विदेशबाट फर्किएका कामदारलाई उद्यमी बन्न प्रेरित गराउन र रोजगार सिर्जनाका लागि आर्थिक सहयोग गर्ने, वैदेशिक रोजगारीबाट फर्केका कामदारले विदेशमा सिकेका सीपको अभिलेख राख्ने, सीप परीक्षण गराउने काम पनि अब निर्देशिकाअनुसार नै हुने उल्लेख गरिएको छ ।
कामदारको सीप परीक्षणबापत शुल्क शोधभर्ना दिने, वैदेशिक रोजगारबाट फर्किएकाहरूका लागि निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने, वैदेशिक रोजगारबाट फर्किएका कामदारहरूलाई वित्तीय साक्षरता तालिम सञ्चालन गर्नेलगायतका नीतिगत विषयसमेत समेटिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९ ०८:१८