काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेटस (युएई) का राजदूत साइद अल नक्विबीच भेटवार्ता भएको छ ।
युएईका राजदूत नक्वि नव श्रममन्त्री कुँवरलाई भेट्न बुधबार मन्त्रालयमा भेटवार्ता गर्न पुगेका हुन् ।
भेटवार्तामा नेपाल र युएईबीचको सम्बन्ध अझै मजबुत बनाउने विषयमा छलफल भएको जानकारी दिइएको छ । युएईमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजीकरण गर्ने विषयमा पनि कुराकानी भएको जनाएको छ ।
राजदूत नक्विलाई मन्त्री कुँवरले युएईबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसी सल्लाह गरेर अगाडि बढ्ने जानकारी गराएका थिए ।
साथै, उनले संयुक्त अरब इमिरेटसका ठूला लगानीकर्ताहरुलाई नेपालको पर्यटन उद्योग, हाइड्रोपावर, चिकित्सा शिक्षा, इञ्जिनियरिङ र सेवा क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ ०८:३३