काठमाडौं- वैदेशिक रोजगार विभागले संयुक्त अरब इमिरेटस् दुबई रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । दुईवटा म्यानपावरको सञ्चालक रहेका एकै व्यक्तिले दुबईमा अकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर ठगी गरेको भन्दै विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता गरेको हो ।
वैदेशिक रोजगारीका लागि दुबई लैजाने भन्दै प्रतिव्यक्ति आठ लाख रुपैया“सम्म लिई ठगी गरेको भन्दै परेको जाहेरीको आधारमा विभागले आवश्यक अनुसन्धान गरी मुद्दा दर्ता गरेको जनाएको छ । एक्टिभ इम्प्लोइमेन्ट सर्भिसेज प्रालि र द रोयल गोरखा ओभरसिज प्रालिका सञ्चालक कमल विकसमेतका अभियुक्तले जनही आठ लाख लिई ठगी गरेको भन्ने जाहेरीको आधारमा विभागले विकलाई पक्राउ गरेको थियो ।
विभागका अनुसार द रोयल गोरखा ओभरसिजमार्फत विकले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ को प्रवधानविपरीत केशव आचार्यसमेत ३६ जनाबाट एक करोड ४३ लाख १८ हजार रुपैयाँ लिई ठगी गरेको पाइएको छ । एक जनाबाट आठ लाख रुपैया“सम्म लिएर दुबईको आर्म गार्ड/भिआइपी/डिपिएस सेक्युरिटी गार्डमा रोजगारीको प्रलोभन देखाई ठगी गरेको विभागले जनाएको छ ।
विकले ठगी गरेको पुष्टि हुन आएकाले उक्त कार्य वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ विपरीतको कसुर भएको विभागले जनाएको छ । विभागले विकसहित भोजपुरका प्रदीप तामाङ, झापाका सुरज गजुरेललगायत छ जनालाई प्रतिवादी बनाई वैदेशिक रोजगारीका नाममा ठगी गरेको भन्दै एक करोड ४३ लाख १८ हजार ५०० रुपैयाँ र त्यसको ५० प्रतिशत रकम हर्जना तथा क्षतिपूर्तिबापतको ७१ लाख ५९ हजार २५० रुपैयाँ विगोसहित दुई करोड १४ लाख ७७ हजार ७५० रुपैया“ मागदाबी गरेको ।
त्यस्तै कान्छामान थिङसहित तीन जनासँग १४ लाख ३७ हजार रुपैयाँ ठगी गरेको पुष्टि भएको उल्लेख गर्दै विभागले एक्टिभ इम्प्लोइमेण्ट सर्भिसेज प्रालिका सुरज गजुरेललाई पक्राउ गरी मुद्दा दायर गरेको छ । विभागले उक्त रकमको ५० प्रतिशत हर्जनासमेत जोडेर २१ लाख ५५ हजार ५०० रुपैया“ मागदाबी गरेको छ ।
गजुरेलले पनि दुबईको आर्म गार्ड/भिआइपी/डिपिएस सेक्युरिटी गार्डमा रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोप लगाइएको छ ।विभागले वैदेशिक रोजगारीसम्बन्धी मुद्दाको सुनुवाइ वैदेशिक रोजगार न्यायाधिकरणबाट हुने व्यवस्था छ । सोहीअनुसार विभागले न्यायाधिकरणमा मुद्दा दायर गरेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार २०, २०७९ ०८:२८