काठमाडौं- वैदेशिक रोजगारीका लागि अजरवैजान पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनाविरुद्ध वैदेशिक रोजगार विभागले मुद्दा दायर गरेको छ । रोल्पा रुण्टिगढी–७ स्थायी घर भई काठमाडौं बस्दै आएका कुलबहादुर घर्तीले विभिन्न व्यक्तिलाई रोजगारीको लागि अजरवैजान पठाइदिने भन्दै ३१ लाख २६ हजार रुपैयाँ ठगी गरेको अभियोगमा विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।
अजरवैजानमा मासिकरुपमा राम्रो कमाइ हुने प्रलोभन देखाएर घर्तीले दैलेख घर भएका तेजबहादुर वली र छवी वली, दाङका रत्न बाठा मगर, रोल्पाका विमलराज डाँगीसँग पैसा लिएर वैदेशिक रोजगारीमा नपठाई बिचल्ली पारेको र लिएको रकमसमेत फिर्ता नगरेको अभियोगमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
विभागले दायर गरेको मुद्दामा प्रतिवादी घर्तीले वैदेशिक रोजगार ऐन २०६४ को दफा १० र ४३ विपरीतको कसूर गरेकोले निजलाई सोही ऐनको दफा ४३ बमोजिम कारबाही हुनुपर्ने उल्लेख गरिएको छ । निज घर्तीले उल्लिखित चार जनासँग लिएको ३१ लाख २६ हजार रुपैयाँ र सोको ५० प्रतिशतले हुन आउने हर्जना र अन्य खर्चसमेत जोडी ४७ लाख ६९ हजार ५०० रुपैयाँ दिलाइदिनुपर्ने मागदाबी गरिएको छ ।
सुमन शेर्पालीस“गको मिलेमतो र योजनामा घर्तीले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजत नै नलिई ठगी गर्ने मनसायले जाहेरवालामध्ये डा“गीलाई अजरवैजान नै पुर्याएको, दुई वली र मगरलाई भारतसम्म पु¥याइ अलपत्र पारेको विभागले उल्लेख गरेको छ । घर्तीले वैदेशिक रोजगारीमा अजरवैजान पठाइदिने भनी लिखित कागज गरी रकम बुझिलिएको विभागले जनाएको छ ।
घर्तीले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै पैसा लिएर बिचल्ली पारेको र पैसा पनि फिर्ता नगरेको भन्दै पीडितहरुले विभागमा जाहेरी दिएको निर्देशक कृष्णप्रसाद भुसालले बताए । सोही उजुरीका आधारमा आवश्यक छानबिनका लागि पक्राउ परेका घर्तीबाट कसूर भएको देखिन आएकाले विभागले मिति यही असार ५ गते मुद्दा दायर गरेको उनले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ ०८:४७