काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक सेयर निष्काशन (आइपिओ)मा आरक्षणको व्यवस्था गर्ने तयारी गरेको छ । उक्त आरक्षणमा सहभागी हुन वार्षिक न्यूनतम एक लाख रुपैयाँ रेमिट्यान्स पठाएको हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आइपिओ निष्काशनमा १० प्रतिशत आरक्षणको व्यवस्था गर्ने घोषणा गरेको हो । यसमा गैरआवासीय नेपालीहरुसमेत पर्छन् । यसका लागि औपचारिक माध्यम (रेमिट्यान्स कम्पनी)मार्फत वर्षमा कम्तीमा पनि एक लाख रुपैया“ नेपालमा पठाएको हुनुपर्ने प्रावधान राख्न लागिएको हो ।
रोजगारीका लागि विदेशमा रहेका व्यक्तिले औपचारिक माध्यमबाट वार्षिक एक लाख रुपैयाँ पठाएको पाइएमात्रै आरक्षण गरिएको १० प्रतिशत आइपिओ भर्न पाउने गरी नेपाल धितोपत्र बोर्डले कार्यविधि बनाइरहेको छ । विदेशमा रहेका श्रमिकले आरक्षण गरिएको आइपिओमा सहभागी हुनलाई केही मात्रा भए पनि रेमिट्यान्समा योगदान पुर्याउन् भन्ने उद्देश्यले कार्यविधि निर्माणको तयारी भइरहेको बोर्डका एक सदस्यले बताए ।
उनका अनुसार प्राथमिक सेयरमा आरक्षण पाउन निश्चित रेमिट्यान्सको सीमा नतोकिए पनि मोटामोटी रुपमा एक लाख रुपैयाँ पठाउनेलाई सहभागी गराउने विषयमा कार्यविधि निर्माण समितिमा छलफल भइरहेको छ ।मुलुकमा भएको विदेशी मुद्रा सञ्चितिमा गिरावट आएपछि सरकारले विदेशी मुद्रा भित्र्याउन वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सेयरमा आरक्षण व्यवस्था गर्ने नीति लिएको हो ।
वैदेशिक रोजगारीमा गएकाहरुलाई १० प्रतिशत सेयर आरक्षण गरिए पनि ठूलै मात्रामा विदेशी मुद्रा भित्रिने सरकारले विश्वास लिएको छ । यसमा धितोपत्र बोर्डले १० प्रतिशत सेयर आरक्षित गर्ने सवालमा सरकारले बजेटमा घोषणा गरेअनुसार नै कार्यान्वयन हुने जनाएको छ ।वैदेशिक रोजगारीमा रहेकाहरूले आइपिओ भर्न अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने बोर्डले जनाएको छ ।
यस्तो खाता खोल्दा पहिलो चरणमा भिडियो कलबाट उनीहरूको व्यक्तिगत विवरण लिने र पछि रोजगारीबाट नेपाल फर्किएको समयमा आफैं उपस्थित भएर पहिचान अद्यावधिक गराउनुपर्ने नियम लागू गर्ने बोर्डको योजना छ । यसैको प्रयोग स्वरुप नेपालका केही बैंकले भिडियो कलबाट व्यक्तिगत पहिचान विवरणसम्बन्धी फाराम भर्न थालिसकेको बोर्डले जनाएको छ ।
डिम्याट खाता सञ्चालनमा आइसकेपछि वैदेशिक रोजगारीमा गएकाहरूले नेपालमै रहेका सर्वसाधारणले जस्तै आफ्नो सेयर खाताको जानकारी पाउन र कारोबार गर्न सक्ने छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले वार्षिक रुपमा झण्डै १० खर्ब रुपैयाँ रेमिट्यान्स पठाउने गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ । यद्यपि, पछिल्लो समय मुलुकभित्र आउने रेमिट्यान्समा गिरावट आएस“गै वैदेशिक रोजगारीमा जानेहरुलाई आकर्षित गर्न सरकारले सेयरमा आरक्षण दिने मात्र नभई विभिन्न योजनामा सहभागी गराउने नीति अघि सारेको छ ।