काठमाडौं- साउदी अरबको सरकारले विदेशीहरुलाई कोभिड-१९ विरुद्धको खोपविना नै प्रवेश दिने भएको छ । साउदी सरकारले कोभिड सुरु भएसँगै लगाएका सबै बन्देज तथा सर्तहरु फुकुवा गरेपछि कोभिड खोप अनिवार्य लगाएको हुनुपर्ने व्यवस्था हटाइएको हो ।
सरकारले कोभिडविरुद्धको खोप नलगाए पनि प्रवेश गर्न तथा बाहिरिन पाउने व्यवस्था गरेको साउदी अरेबियाको ओकज पत्रिकाले जनाएको छ । पत्रिकाका अनुसार साउदी अरब प्रवेश गर्न चाहने विदेशी नागरिकसँग वैधानिक भिसा र पासपोर्ट अनिवार्य हुनुपर्ने छ ।
साउदी अरबको सम्बन्धित निकायका अधिकारीलाई उद्धृत गर्दै उक्त पत्रिकाले साउदी फर्किन चाहने विदेशी श्रमिकसँग म्याद बा“की भएको भिसा तथा आवासीय अनुमतिपत्र र परिचयपत्र (आइडी) हुनु पर्ने उल्लेख गरेको छ ।
झण्डै साढे तीन करोड जनसंख्या रहेको साउदीमा विदेशी कामदारको संख्या ठूलो छ । कोभिडका कारण ठूलो संख्यामा कामदार भित्र्याउन नपाउँदा क्षति पुगेको भन्दै सरकारले सबै बन्देज फुकुवा गरेको अनुमान गरिएको छ ।
गत हप्तामात्रै साउदी अरबले कोभिडसँग सम्बन्धित सबै प्रकारका बन्देज हटाउने निर्णय गरेको थियो । बन्देजहरुसँगै कोभिडविरुद्धको खोप लगाएको हुनुपर्ने व्यवस्था पनि हटाइएको हो ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९ १३:५७