काठमाडौं- वैदेशिक रोजगार विभागले युरोपेली मुलुक पोल्याण्डमा रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जनाविरुद्ध मुद्दा दायर गरेको छ । सप्तरी कञ्चनरुपा–१२ स्थायी घर भई काठमाडौं बस्दै आएका पूर्णकुमार दाहालले दोलखाकी सरिता भुजेलसँग वैदेशिक रोजगारीमा पोल्याण्ड पाठाइदिने भन्दै २० लाख २० हजार रुपैया“ ठगी गरेको अभियोगमा विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।
पोल्याण्डमा मासिक एक लाख ७८ हजार रुपैयाँसम्म कमाइ हुनेगरी कृषि क्षेत्रमा काम गर्न पठाइदिन्छु भन्दै दाहालले भुजेलसँग पैसा लिएर वैदेशिक रोजगारीमा नपठाएको र लिएको रकम फिर्ता नगरेको अभियोगमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
विभागले दायर गरेको मुद्दामा प्रतिवादी दाहालले वैदेशिक रोजगार ऐन २०६४ को दफा १० र ४३ विपरीतको कसूर गरेकोले निजलाई सोही ऐनको दफा ४३ बमोजिम कारबाही हुनुपर्ने उल्लेख गरिएको छ । निज दाहालले भुजेलसँग लिए खाएको २० लाख २० हजार रुपैंयाँ र सोको ५० प्रतिशतले हुन आउने हर्जनासमेत जोडी ३० लाख ३० हजार रुपैयाँ दिलाइदिनुपर्ने मागदाबी मुद्दामा गरिएको छ ।
दाहालले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै पैसा लिएर आफूलाई विदेश नपठाएको र पैसा पनि फिर्ता नगरेको भन्दै भुजेलले विभागमा जाहेरी दिएको निर्देशक कृष्णप्रसाद भुसालले बताए । सोही उजुरीका आधारमा आवश्यक छानबिनका लागि पक्राउ परेका दाहालबाट कसूर भएको देखिन आएकाले विभागले मिति २०७९ असार १ गते मुद्दा दायर गरेको भुसालले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९ १०:०८