काठमाडौं- साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई दिउँसो (मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म) बाहिर घाममा काम नगर्न आग्रह गरेको छ ।
साउदी अरबकाे मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयको सूचनाका आधारमा अत्याधिक गर्मी बढेकाले कामदारको सुरक्षाको लागि सरकारले कामदारलाई दिउँसो घाममा काम गर्न लगाउन नपाउने नियम लागू गरेको हो ।
नेपाली दूतावासले आज एक विज्ञप्ति जारी गर्दै उक्त आग्रह जुन १५ देखि सेप्टेम्बर १५ सम्म लागू हुने जनाएको हो । दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘साउदी सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय (श्रम मन्त्रालय) ले यही १५ जुन देखि १५ सेप्टेम्बर २०२२ (३ महिना) सम्म दिउँसो १२ बजेदेखि ३ बजेसम्म कुनै पनि रोजगारदाताले कामदारलाई बाहिर घाममा गर्नुपर्ने काममा लगाउन नपाइने जनाएको छ, । ’
यदी कुनै कम्पनी वा रोजगारदाताले नियमको अवज्ञा गरेर कुनै कामदारलाई आगामी तीन महिनाको अवधिमा मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म बाहिर घाममा काम गर्न लगायो वा काम गर्न बाध्य पार्यो भने श्रम मन्त्रालयको टोल फ्री नं. १९९११ मा सम्पर्क गरेर उजुरी गर्न समेत अनुरोध गरिएको छ ।
कम्पनीको सुपरभाइजरले वा क्याम्प बोस वा यस्तै अन्य व्यक्तिले कामदारको गल्ती नै नभएको बेलामा पनि कुटपिट गर्ने तथा विभिन्न प्रकारका शारीरिक हिंसा गर्ने गरेको गुनासो आउने गरेको दूतावासले जनाएको छ । यस्तो अवस्थामा प्रहरीलाई ९११ नम्बरमा तुरून्तै सम्पर्क गर्न त्यहाँ रहेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ ।
दूतावासका अनुसार ‘कुटपिट र शारीरिक हिंसा बाहेक कम्पनी वा रोजगारदातासँग कामदारको समस्यासँग सम्बन्धित विषयमा कुनै गुनासा छन् भने श्रम मन्त्रालयको टोल-फ्री नं १९९११ मा सम्पर्क गर्न सक्नुहुनेछ,’ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९ १४:१९