काठमाडौं- युरोपेली मुलुक क्रोएसिया पठाइदिने भन्दै दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–२० स्थायी घर भएका ३६ वर्षीय उत्सव दाहाललाई काठमाडौंको बलाजुबाट बिहीबार प्रहरीले पक्राउ हो ।
उनी काठमाडौं महानगरपालिका–१० बस्दै आएको प्रहरीले जनाएको छ । दाहाललाई अजय वाइवासँग वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै दुई लाख रुपैयाँ लिएको अभियोग लागेको छ । आफूसँग पैसा लिएर सम्पर्कविहीन भएपछि वाइवाले दाहालले ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
वाइवाको उजुरीको आधारमा फरार रहेका दाहाललाई पक्राउ गरी वैदेशिक रोजगार विभागमा बुझाइएको महानगरीय अपराध अनुसन्धान विभागले जनाएको छ । दाहालले वाइवामात्रै नभएर अन्य व्यक्तिसँग पनि विदेश पठाइदिने भन्दै ठगी गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । वैदेशिक रोजगार विभागको समन्वयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९ १०:४८