काठमाडौं- वैदेशिक रोजगार विभागले मलेसिया जाने कामदारको हकमा पूर्वस्वीकृति वा मागपत्र प्रमाणीकरण नहुँदै स्वास्थ्य परीक्षण नगराउन सचेत गराएको छ । विभागले पूर्वस्वीकृति वा मागपत्र प्रमाणीकरण नहुँदै स्वास्थ्य परीक्षण गराएको पाइए कडा कारबाही हुने जनाएको छ ।
वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५ (क) अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत भएका स्वास्थ्य संस्थाहरुलाई मात्रै परीक्षण गराउने अनुमति दिइए पनि यस विपरीत हुने गरेको भन्दै विभागले कारबाहीको चेतावनी दिएको हो ।
विभागले गत शुक्रबार मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी सूचना जारी गरेर उल्लिखित नियमविपरीत गतिविधिहरु सञ्चालन गर्ने/गराउने कार्य भइरहेको भन्दै सचेत गराएको छ । यस्ता क्रियाकलापले कामदारहरु ठगिने र भविष्यमा विभिन्न समस्या आईपर्ने खतरा देखिएको भन्दै विभागले कामदार छनोट सूचीमा सूचीकृत हुनु अगावै स्वास्थ्य परीक्षण नगराउन निर्देशन दिएको छ ।
‘इजाजतप्राप्त संस्थाले वैदेशिक रोजगारमा कामदार पठाउनुपूर्व स्वीकृति लिई नियमानुसार विज्ञापन प्रकाशन र अन्तर्वार्ताको प्रक्रिया पूरा गरी छनोट सूची तयार भइसकेपछि मात्रै स्वास्थ्य संस्थाहरुले स्वास्थ्य परीक्षण गर्नुपर्नेमा मलेसिया जाने कामदारको हकमा पूर्वस्वीकृति वा मागपत्र प्रमाणीकरण नहुँदै कामदारको स्वास्थ्य परीक्षण गराउने गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ विभागले भनेको छ, ‘अतः छनोट सूचीमा सूचीकृत हुनु अगावै स्वास्थ्य परीक्षणलगायतका गतिविधिहरु सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।’
वैदेशिक रोजगारीमा जान चाहने कामदारहरुको पूर्वस्वीकृति वा मागपत्र प्रमाणीकरण नै नभई स्वास्थ्य परीक्षण भइरहेको भन्ने जानकारी प्राप्त भएकाले सार्वजनिक सूचना जारी गरिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । ‘कामदार वैदेशिक रोजगारीमा जाने कुनै ग्यारेण्टी नभई स्वास्थ्य परीक्षण गराउनु कानुनविपरीतको कार्य हो,’ पौडेलले भने, ‘यस्ता गतिविधिमा संलग्न संस्थाहरुलाई नियमानुसार कारबाही गर्नु र जनचेतना फैलाउनु राज्यको दायित्व पनि हो ।’
विभागले कामदार ठगिने र भविष्यमा हुनसक्ने समस्याहरुको न्यूनीकरणका लागि कानुन विपरीत भइरहेका गतिविधि नियन्त्रण गर्न र त्यसमा संलग्न हुनेलाई कडा कारबाही हुने जनाएको छ । यसअघि बिहीबार मात्रै श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधिबीच स्वास्थ्य परीक्षणमा देखिएको समस्या तत्काल समाधान गर्न सहमति भएको थियो । सहमतिअनुसार नै पूर्वश्रम स्वीकृतिका सबै प्रक्रिया पूरा गरेपछि मात्र सूचीकृत संस्थाले स्वास्थ्य परीक्षण गर्ने व्यवस्था भएको विभागले उल्लेख गरेको छ ।