काठमाडौं- वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने एक महिलाविरुद्ध वैदेशिक रोजगार विभागले एकै दिन दुईवटा मुद्दा दायर गरेको छ । झापा घर भई काठमाडौंको बानेश्वर बस्दै आएकी रञ्जना श्रेष्ठविरुद्ध विभागले बुधबार वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।
श्रेष्ठले दक्षिण अफ्रिकी मुलुक गुयाना पठाइदिने भन्दै दुई युवाबाट साढे १६ लाख रुपैयाँ ठगी गरेको मुद्दामा उल्लेख छ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम लिएर ठगी गरेको भन्दै ती युवाहरुले उजुरी दिएपछि विभागले छानबिन गरेको थियो ।
छानबिनबाट श्रेष्ठले युवाहरुबाट रकम लिएर ठगी गरेको पुष्टि भएको विभागले जनाएको छ । आरोपित श्रेष्ठ पक्राउ परिसकेको पनि विभागले जनाएको छ ।ठगीमा पर्ने दुवै युवा झापाकै हुन् । झापाको शिवसाताक्षी नगरपालिकाका युवराज ढकाल र सुरुङ्गाका जोन विश्वकर्मा श्रेष्ठबाट ठगिएका हुन् ।
श्रेष्ठले विश्वकर्मास“ग ११ लाख ५० हजार रुपैयाँ र ढकालसँग पाँच लाख रुपैंयाँ लिएर वैदेशिक रोजगारीमा नपठाएको र रकम पनि फिर्ता नगरेको विभागले मुद्दामा उल्लेख गरेको छ ।
विभागले रकम लिएर विदेश नपठाएको र रकम पनि फिर्ता नगरेको प्रमाणका आधारमा वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ बमोजिम सजाय हुन र जाहेरीवालास“ग लिएका रकमसहित सोको ५० प्रतिशत हर्जना र भारत जाँदा–आउँदा र खान बस्नको खर्च प्रतिवादी श्रेष्ठबाट दिलाइदिने मागदाबी मुद्दामा गरेको छ ।
वैदेशिक रोजगारीका नाममा हुने ठगीसम्बन्धी मुद्दाको अन्तिम किनारा वैदेशिक रोजगार न्यायाधिकरणले लगाउने व्यवस्था छ ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ १२:०१