काठमाडौं–परीक्षा स्थगित भएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका कारण कोरियाली भाषाको परीक्षा स्थगित हुने भएको हो ।
वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले बुधबार एक सूचना जारी गर्दै यही २६ वैशाखदेखि हुने भनिएको परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थिगित गरिएको जानकारी दिएको हो ।
सूचनामा भनिएको छ, ‘स्थानीय तहको चुनावका कारण परीक्षा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थिगित गरिएको छ ।’ कोभिडका कारण सन् २०१९ देखि हुन नसकेको परीक्षामा यो वर्ष ४४ हजार ८५३ जनाले आवेदन दिएका थिए । जसमध्ये कृषि क्षेत्रका लागि १० हजार ८५८ र उत्पादनमूलक क्षेत्रमा ३३ हजार ९९५ जनाले आवेदन दिएको इपिएस शाखाले जनाएको छ । सन् २०२२ का लागि नौ हजार ६९८ जनाको कोटा निर्धारण भएको छ । भाषा परीक्षाको लागि १४ चैतदेखि २१ चैतसम्म आवेदन माग गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९ १०:२९