
काठमाडौं– नेपालीहरूको रोजगार गन्तव्य मुलुक कुवेतमा श्रमिकको अभाव देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण ठूलो संख्यामा विदेशी श्रमिक स्वदेश फर्किएपछि कुवेतमा विदेशी श्रमिकको अभाव सुरु भएको हो ।
कुवेतमा विशेषगरी दक्ष श्रमिकको अभाव सुरु भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । श्रमिकको अभाव भएपछि श्रमिकको माग बढेको समाचारमा जनाइएको छ । कोभिडको महामारी सुरु भएपछि दशौं हजार विदेशी श्रमिक स्वदेश फर्केपछि श्रमिक अभाव भएको समाचारमा उल्लेख छ ।
त्यसरी फर्केकामध्ये अधिकांश पुनः कुवेत नफर्किने गरी स्वदेश फर्किएको र कतिपय स्वदेश फर्केर पुनः रोजगारीमा नआउने कारणले गर्दा श्रमिकको अभाव सिर्जना भएको जनाइएको छ । कुवेत पुनः फर्किने गरी स्वदेश फर्केकाहरू समेत कोभिडका कारण स्वदेशमै रोकिएका र उनीहरूको भिसाको म्याद सकिएका कारण पुनः कुवेत फर्किन नपाएको हुनसक्ने समाचारमा जनाइएको छ ।