

काठमाडौं– देशको आर्थिक अवस्थामा भएको संकट अब रातो बत्ती बल्ने अवस्थामा पुगेको अर्थविद्हरूले बताएका छन् । अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुरेलले सरकारले अहिले देखिएको अर्थतन्त्रको समस्या समाधानका लागि खासै चासो नदिएकाले देशले गम्भीर अर्थ संकट भोग्दै श्रीलंकाको झैँ भोग्न बाध्य हुनुपर्ने दिन धेरै टाढा नभएको बताए ।
उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र सरोकारवाला निकायले गम्भीर भएर पहल गर्नुपर्नेमा सरकार आफ्नै शैलीमा हिँडेका कारण अर्थतन्त्रको विकासमा अवरोध पुगेको बताए । उनले श्रीलंकाले सुरुमा अर्थतन्त्रमा समस्या हुँदा बेवास्ता गरेकोले आज यो अवस्था भोग्नुपरेको भन्दै नेपालले पनि बेलैमा सो बारे गम्भीर भएर समधान नखोजिएमा श्रीलंकाभन्दा बढीको अवस्था भोग्नुपर्ने बताए । उनले भने, ‘आजभन्दा तीन वर्षअघि श्रीलंकामा जे खालको लक्षण अर्थतन्त्रमा देखियो, अहिले नेपालका मूलभूत आर्थिक परिसूचकहरू कताकता श्रीलंकाको तीन वर्षअघिको जस्तो देखिँदै गएको छ, त्यतिबेला श्रीलंकामा बेवास्ता गरिएको थियो, अहिले उसले गम्भीर समस्या भोगिरहेको छ, त्यही भएर नेपाल गम्भीर आवश्यक रहेको छ ।’
उनका अनुसार अहिले हाम्रो सम्पूर्ण सरकार, सरकार सञ्चालन प्रणाली नै कस्तो देखियो भने सार्वजनिक क्षेत्रबाट कराइरहने, मिडियामा हामी बोलिरहने, तर अर्थतन्त्रको समस्या समाधानको लागि सरकारको तर्फबाट कुनै चासो नदिने देखिएको बताए । उनले आफूहरूले मुलुकको अर्थतन्त्रको समस्या समाधानको लागि सकारात्मक सूचना दिएको भए पनि त्यसबारे कुनै चासो नदिएको गुनासो समेत । उनले नेपालका आर्थिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने निकायहरूबीच नै समन्वय नभएको बताए ।
योजना आयोग एकातिर, राष्ट्र बैंक अर्कोतर्फ, अर्थ मन्त्रालय अर्कोतर्फ रहेका कारण पनि देशमा यो अवस्था आएको प्रा.डा. प्याकुरेलको भनाइ रहेको छ । यी तीनै निकाय एकैतर्फ हुनुपर्नेमा अझै हुन नसक्नु देशका लागि घातक भएको ठहर समेत उनको रहेको छ । नेपालमा पनि त्यही अवस्था छ । ठूला–ठूला भ्रष्टाचार काण्ड त कति छन् । पैसा रोल हुनुपर्छ । अनिमात्रै विकास हुन्छ हुने बताएका छन् । पुँजीगत खर्च हुन नसक्नु, नेपाल आयल निगम घाटामा रहेको देखाउनु, नेपाल एयरलायन्स घाटामा देखाएर सरकारले सेतो हात्ती पालेर बस्नु नै देशका लागि घाटा भएको बताए ।
अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाजस्तो अवस्थामा नपुगेको बताए पनि यही अवस्थामा सरकारले ध्यान नदिने हो भने चाँडै नै श्रीलंकाको बाटोमा पुग्ने बताए । उनले अहिले श्रीलकांमा मात्रै नभएर पूरा विश्व अर्थतन्त्रमा नै फेरबदल देखिएको सुनाए । उनले भने, ‘बेलायतका अर्थमन्त्रीले स्प्रिङ स्टेटमेन्ट दिँदा अब १३ लाख मान्छे बेरोजगारमा जान्छ भनेका छन् । बेलायत नै आत्तिसकेको छ । स्यांक्सन र काउन्टर स्यांक्सन भइरहेको छ । ग्लोबल्ली असर परिरहेको छ । हामी विश्व अर्थतन्त्रसँग परनिर्भर भइसकेकोले असर परेको छ । भोलि यस्तो हुन्छ भन्ने अनुमान गर्ने अवस्था छैन । पाकिस्तानले रसियाको ग्यास लिने भनेको छ । भोलिको दिनमा डलरको भविष्य के हुन्छ भन्नसक्ने स्थिति छैन ।’
उनले नेपालको अर्थतन्त्रलाई ‘कक्टेल अर्थतन्त्र’को संज्ञा दिए । उनले श्रीलंका र नेपालको अर्थतन्त्रको चरित्र नै फरक रहेको दृष्टान्त पेस गरे । उनले भने, ‘श्रीलंका र हाम्रो अर्थतन्त्रको चरित्र फरक छ । श्रीलंकाको अर्थतन्त्र १६ प्रतिशत पर्यटनमा डिपेन्ड थियो । कृषिमा उसको आठ प्रतिशत हो, हाम्रो २६ प्रतिशत हो । उसले आफ्नो रिसोर्सको मिस म्यानेजमेन्ट गरेको छ । उनका अनुसार नेपालले माइक्रो लेभलको प्लान ल्याउन नसकेको बताए । अहिले नेपालको श्रीलंका र पाकिस्तानको अवस्था हुन्छ भन्ने होइन । मुद्राको अवमूल्यन गर्ने हो कि भन्ने कुरा आएको बताए । उनका अनुसार यो संकटको बेलामा मुद्रा अवमूल्यन गरिनु हुँदैन ।
नेपालको अर्थतन्त्र भनेको भारतीय अर्थतन्त्रको स्याटलाइट इकोनोमी रहेको भन्दै निच मारेर बस्यौं भने र यतातर्फ ख्याल नै गरेनौं भने सात÷आठ महिनापछि समस्या आउने उनले बताए । वैदेशिक मुद्रा कम हुँदै गएको छ । घट्ने दरलाई कसरी जोगाउने ? स्रोतको कमी भयो । मान्छेले पैसा होल्ड गरेको छ । अहिले नगद होल्ड भएको छ । निर्वाचनमा प्रयोग गर्न होल्ड भएको बताउदै देशले आर्थिक संकट झेल्नु पर्ने देखिएको बताए । उनले भने, ‘सरकारी खर्च बढाउनुको साथै वैदेशिक मुद्राको स्टक बढाउनुपर्छ, भ्युटावर बनाउनुको सट्टा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ, पोलिटिकल्ली पनि यसमा इन्टरभेन्सन हुनुपर्ने बताएका छन् ।
उनले नेपालको अर्थतन्त्रमा पहेलों बत्ती बलिसकेको बताउँदै यही अवस्था रहेमा रातो बत्ती बल्ने खतरा रहेको बताए । अर्थविद् डा. डिल्लीराज खनालले आफूहरूले धेरै पहिलेदेखि नै मुलुकमा आर्थिक संकट आउँदै छ भनेर सुरुदेखि नै सरकारलाई सचेत गराउदै आएको बताएका छन् । उनले भने, ‘अहिले जुन आर्थिक संकट छ, एउटा क्षेत्रमात्रै होइन । पुँजीगत खर्च नहुने, राजस्व जम्मा भएर बस्ने । जुन ढंगले बैकिङ क्षेत्रबाट लगानी भयो । व्यापार घाटा बढ्यो, चालु खाता घाटा छ, धेरै समस्या छ । हिजोमात्रै राष्ट्र बैंकले अर्थतन्त्रमा निकै ठूलो संकट नै आइसक्यो भनेर कठोर नीति लियो । हामी त यो विषय सुरुदेखि नै लेखिरहेका छौं ।
अर्थतन्त्रका संकेत राम्रा छैनन्, गम्भीर मोडतर्फ अर्थतन्त्र जाँदै छ भनेर भनेका थियौं ।’ उनले एकातिर अर्थतन्त्र ह्रास हुने र अर्कोतर्फ आयात व्यापक रूपमा बढ्ने समस्या औँल्याए । उनले भने, ‘हामीले त सरकार सजग हुनुपर्छ भनेका थियौं । तर, सरकारका जिम्मेवार मान्छेले सात प्रतिशतभन्दा बढीको वृद्धिद्धर हासिल गर्छौं भनेर । संकटोन्मुखतर्फ अर्थतन्त्र गइरहेको बेला सरकारले समस्याको समाधानको लागि पहलकदमी लिनुपर्दथ्यो ।’
उनले सरकारले सरोकारवालाहरू सबैलाई राखेर अघि अहिले देखिएको समस्या समाधानको लागि कदम चाल्नुपर्नेमा त्यसो नगरेको दुखेसो पोखे । उनले भने, ‘समस्या समाधानको लागि सरकारको संवेदनशीलता देखिएन, उपेक्षा गरिएको छ । बिआरआईको कारण श्रीलंकामा समस्या आयो भन्ने पनि छ, संवेदनशील भएर काम नगर्दा त्यहाँ समस्या आएको उनले बताए । उनले भने, ‘मुद्रा सञ्चितीमा समस्या आएको छ । सरकार संवेदनशील भएन । मूल्यमा ठूलो चाप पर्ने खतरा छ । रोजगारीको अवसर सिर्जना गर्ने कुरामा समस्या पनि आउनेछ । भोलि सबैतर्फ समस्या आयो भने रेस्क्यु गर्ने अवस्था कठिन छ, सरकारले महसुस गर्नुप¥यो कि अब गम्भीर संकटतर्फउन्मुख छौं भनेर ।’