वीरगञ्ज - पर्साको वीरगञ्जस्थित मानवसेवा आश्रममा आश्रित ५८ जना असहाय तथा बेसहारालाई खाजा वितरण गर्दै ह्युमन लभ च्यारिटी फण्डले मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ। संस्थाले शनिबार आयोजना गरेको विशेष कार्यक्रममा आश्रममा रहेका मानसिक तथा शारीरिक रूपमा पीडित, सडक जीवन बिताइरहेका तथा अभावमा बाँचिरहेका व्यक्तिहरूलाई खाजा वितरण गरिएको हो।
कार्यक्रममा सहभागी संस्थाका सदस्यहरूले आश्रममा रहेका व्यक्तिहरूसँग समय बिताउँदै उनीहरूको अवस्था बुझ्ने प्रयास समेत गरेका थिए। संस्थाका संस्थापक अध्यक्ष मोहम्मद एजाज अन्सारीले संस्था स्थापना गर्दाको संघर्ष सम्झँदै सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सकिने विश्वासका साथ अभियान सुरु गरिएको बताए। उनका अनुसार प्रारम्भमा आफ्नै वडा क्षेत्रका विपन्न परिवारलाई खाद्यान्न वितरणबाट सुरु भएको अभियान अहिले मधेसका विभिन्न ग्रामीण क्षेत्रमा राहत, स्वास्थ्य, शिक्षा तथा सामाजिक चेतनामूलक कार्यक्रमसम्म विस्तार भएको छ।
उपाध्यक्ष दिपेन्द्र चौधरी सहनीले सामाजिक सेवामा युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समाजमा दुःखी, बेसहारा र सहयोगको प्रतीक्षामा रहेका मानिसहरूको जीवनमा परिवर्तन ल्याउन युवाहरू अघि आउनुपर्ने बताए।संस्थाका अनुसार हालसम्म सयौं विपन्न परिवारलाई खाद्यान्न, लत्ताकपडा, सिरक, डसना, औषधि तथा दैनिक उपभोग्य सामग्री वितरण गरिएको छ। जाडो मौसममा न्यानो कपडा वितरण, विद्यालयका विद्यार्थीलाई कापी, कलम तथा झोला वितरण र किशोरीहरूलाई स्यानिटरी प्याड उपलब्ध गराउँदै स्वास्थ्य तथा सरसफाइसम्बन्धी जनचेतना फैलाउने काम समेत भइरहेको जनाइएको छ।
ह्युमन लभ च्यारिटी फण्डले मधेस प्रदेशमा अझै कायम रहेको दाइजो प्रथाविरुद्ध पनि अभियान सञ्चालन गरिरहेको जनाएको छ। संस्थाका पदाधिकारीहरूका अनुसार धेरै विवाहलाई दहेजमुक्त बनाउन दुवै पक्षलाई सम्झाइबुझाइ गर्ने कार्य भइरहेको छ।
संस्थाका अध्यक्ष डा. मोहम्मद इमरान अन्सारीले आगामी दिनमा स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा अझ व्यापक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। उनका अनुसार ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, महिलामा देखिने पाठेघरसम्बन्धी समस्याको पहिचान तथा उपचार, रक्तदान कार्यक्रम र आर्थिक अभावका कारण पढ्न नसक्ने बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने लक्ष्य संस्थाले लिएको छ।
कार्यक्रमका प्रमुख सल्लाहकार मुकेश पटेलले सामाजिक क्षेत्रमा काम गर्ने संस्थाका लागि पारदर्शिता र जनविश्वास अत्यन्त आवश्यक रहेको बताए। सल्लाहकार जाहुर अहमदले देखावटी सहयोगभन्दा वास्तविक पीडितसम्म पुग्ने अभियान नै साँचो समाजसेवा भएको धारणा राखे।
संस्थामा हाल ११ सदस्य सक्रिय रूपमा आबद्ध रहेका छन्। कार्यक्रममा समाजसेवी, स्थानीय बुद्धिजीवी तथा युवाहरूको सहभागिता रहेको थियो।