- दुई वर्षभन्दा कम समयदेखि सञ्चालनमा रहेका कम्पनीले पाँच जनामात्र विदेशी कामदारको भिसा पाउने
- दुई वर्षभन्दा बढी सञ्चालनमा रहेका कम्पनीलाई भने अधिकतम ५० जनाको सीमा
- नयाँ नियमले निजी क्षेत्रमा साउदीकै नागरिकलाई रोजगारी दिने सरकारको प्रयासलाई थप सघाउने
काठमाडौं- साउदी अरेबियाले नयाँ कम्पनीहरुले पाउने कामदार भिसाको संख्यामा नयाँ सीमा लागू गरेको छ । उक्त नियमका अनुसार दुई वर्षभन्दा कम समयदेखि सञ्चालनमा रहेका कम्पनीले पाँच जनामात्र विदेशी कामदारको भिसा पाउने छन् ।
दुई वर्षभन्दा बढी सञ्चालनमा रहेका कम्पनीले भने अधिकतम ५० जना कामदारका लागि भिसा स्वीकृति पाउन सक्ने जनाइएको छ । यस परिवर्तनले साउदी अरेबियामा रोजगार खोजिरहेका विदेशी कामदारलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने ‘द इकोनमिक टाइम्स’ले जनाएको छ । विशेषगरी नयाँ खुलेका कम्पनीमा काम पाइने आशमा बसेकाहरुलाई असर गर्ने भनिएको छ ।
समाचारका अनुसार दुई वर्षभन्दा कम सञ्चालित व्यवसायले पाँच वटामात्र भिसा पाउँदा दुई वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेका कम्पनीले लिखित आवेदन या एउटै हप्ताभित्र दिएका धेरै आवेदनमार्फत ५० वटासम्म भिसा पाउने समाचारमा भनिएको छ । विगतमा कम्पनी स्थापना भएको अवधि हेरेर भिसाको संख्या निर्धारण गरिँदैनथ्यो ।
त्यस्तै, साउदीको स्थापना कार्यक्रममा सहभागी व्यवसायलाई फरक कोटा संरचना निर्धारण गरिएको छ । यस्ता कम्पनीलाई सुरुमा दुई जनामात्र विदेशी कामदार भिसाको अनुमति दिइने समाचारमा भनिएको छ । उनीहरुको जनशक्तिको संरचना र आवश्यकतालाई हेरेर कोटा वृद्धि गरिने भनिएको छ ।
नयाँ कोटा प्रणालीले साउदीका स्टार्टअप र युवा व्यवसायीलाई आफ्नो भर्ना योजना व्यवस्थित बनाउन चुनौती थप्ने जनाइएको छ । यस्ता व्यवसायहरु विदेशी कामदारमै बढी निर्भर हुने भएकाले दुई वर्षको सञ्चालन म्याद पूरा हुनु अगावै पाँचभन्दा बढी कामदार चाहिने भए भर्ती रणनीतिलाई समायोजन गर्नुपर्न हुनसक्ने जनाइएको छ ।
स्थापित कम्पनीहरुका लागि भने यस प्रणालीले सहजता प्रदान गर्ने छ । तर, रोजगारदाताले अझै साउदीको वर्क परमिट, जनशक्तिको वर्गीकरणजस्ता आवश्यकताहरु पालना गर्नुपर्ने जनाइएको छ । नयाँ नियमले निजी क्षेत्रमा साउदीकै नागरिकलाई रोजगारी दिने सरकारको प्रयासलाई थप सघाउने छ । साउदी सरकारले स्वदेशीलाई रोजगारी दिने योजनालाई सहज बनाउन पछिल्लो समय वैदेशिक कामदारसँग सम्बन्धित नियमहरु कडा बनाउँदै लगेको छ । विगतमा ‘प्रिमियम रेसिडेन्सी कार्ड’ भएका आप्रवासीहरुले काम गर्न वर्क परमिट लिन पर्दैनथ्यो । गत जुन महिनादेखि प्रिमियम रेसिडेन्सी भएकाहरुले पनि रोजगार खोज्दा छुट्टै वर्क परमिट लिनपर्छ ।
त्यस्तै, आवश्यक कागजातविना विदेशी कामदारलाई रोजगारी दिने रोजगारकर्ताको सजाय पनि बढाएको छ । गत फेब्रुअरीमा वैधानिक अनुमतिविना विदेशी श्रमिकलाई काममा लगाउने नियोक्तालाई १० हजार साउदी रियाल जरिवाना तिराइएको थियो । विगतमा श्रमिकले आफ्नो तलब, गर्नुपर्ने काम र कम्पनीको प्रतिष्ठालाई ध्यानमा राखेर कम्पनी छनोट गर्थे । अब भने रोजगारीको मूल्यांकन गर्दा अर्को पक्ष पनि ध्यानमा राख्नुपर्ने भएको छ । नयाँ नियमअन्तर्गत रोजगारदाता कम्पनीको सञ्चालन इतिहास र कामदार भिसाको योग्यता हेरेर रोजगारीको प्रक्रिया अघि बढाउन पर्ने भएको छ ।
साउदीमा धेरै रोजगारी खोजी गर्ने भारत, पाकिस्तान, नेपाललगायतका देशका कामदारले रोजगारदाता कम्पनी कामदारको भर्ना गर्न योग्य भए नभएको भन्नेमा स्पष्ट भएरमात्र वित्तीय कारोबार अघि बढाउन भनिएको छ । साउदी नेपालीहरुको प्रमुख रोजगार गन्तव्यमध्येको एक हो । त्यहाँ हाल चार लाखभन्दा बढी नेपाली कार्यरत रहेको बताइन्छ ।