काठमाडौं– गएको १८ वर्षमा वैदेशिक रोजगारीमा गएका १६ हजारभन्दा बढीले ज्यान गुमाएको देखिएको छ। वैदेशिक रोजगार बोर्ड स्थापना भएयताको उक्त तथ्यांकले वैदेशिक रोजगारीको पीडादायी पक्षलाई उजागर गरेको छ।
अझ यो तथ्यांक बोर्डबाट आर्थिक सहायता पाएकाहरुको मात्रै हो। त्यसबाहेक मृत्यु भएकाहरुको संख्या यकीन छैन। बोर्डको तथ्यांकअनुसार गत १८ वर्षमा रोजगारीमा गएर मृत्यु भएका १६ हजार ४४३ जनालाई बोर्डले आर्थिक सहायता प्रदान गरेको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै रोजगारीमा गएका एक हजार ६०० जनाको मृत्यु भएको तथ्यांक छ। त्यसअघि आव २०८१/८२ मा एक हजार ५४४ जना मृतकका परिवारले सहायता लिएका थिए। सबैभन्दा कम सहायता आर्थिक वर्ष २०६५/६६ मा ७८ जनाले लिएका थिए। त्यसयता यस्तो संख्या निरन्तररुपमा बढेको पाइन्छ।
बोर्डले गएको एक वर्षमा विदेशबाट ५३५ वटा शव झिकाएको छ। साथै, एक हजार ८४ वटा शव परिवार रहेको स्थानसम्म ढुवानी गरिदिएको तथ्यांक छ। रोजगारीमा गएका श्रमिक करार अवधिभित्रै या करार अवधि सकिएको एक वर्षभित्र मृत्यु भएमा परिवारले क्षतिपूर्तिबापत १० लाख रुपैयाँ पाउने व्यवस्था छ।
रोजगारीमा जाने श्रमिकहरुको बिरामी, हृदयघात, सडक तथा कार्यस्थल दुर्घटना, आत्महत्याजस्ता कारणले मृत्यु हुने गरेको पाइन्छ। सबैभन्दा बढी श्रमिक जाने खाडी र मलेसियामा धेरै नेपालीको मृत्यु हुने गरेको तथ्यांकमा देखिन्छ।
गत वर्ष बोर्डबाट २२१ जनाको उद्धार तथा खोजतलास गरिएको छ। श्रमिकहरु दुर्घटनामा परे, विभिन्न कारणले स्वदेश फर्किन नसके या कानुनी समस्यामा परे बोर्डले उद्धार गर्ने गरेको छ। सोही अवधिमा ४६० जनाले पारिवारिक औषधि उपचार खर्च पाएका छन्। रोजगारीमा गएका श्रमिकका परिवारलाई पार्किन्सन्स, मुटुको शल्यक्रिया, मिर्गौला प्रत्यारोपण, क्यान्सरजस्ता घातक रोग लागे ५० हजार रुपैयाँसम्म उपचार खर्च पाइन्छ। यस्तो रकम एक पटकमात्र पाइने जनाइएको छ। त्यस्तै, रोजगारीको सिलसिलामा अंगभंग तथा गम्भीर बिरामी परेका एक हजार ४७ जना कामदारलाई बोर्डले उपचार खर्च प्रदान गरेको छ।
बोर्डले यस अवधिमा तीन हजार ३६३ जनालाई सन्तति छात्रवृत्ति दिएको छ। मृत्यु, अंगभंग या गम्भीर प्रकृतिको रोग लागेर बोर्डबाट सतप्रतिशत सहायता लिएकाहरुको सन्ततिलाई विद्यालयस्तरमा छात्रवृत्ति दिइँदै आएको छ। आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीले वार्षिक १२ हजार र माध्यमिक तहमा अध्ययन गर्नेले वार्षिक १६ हजार रुपैयाँ पाउने गरेको जनाइएको छ। साथै, एक हजार ९६२ जनालाई उपचार अभिमुखीकरण तालिम दिइएको छ।
बोर्डबाट तीन हजार ५८७ जनाले गत वर्ष टेलिमेडिसिन सेवा लिएका छन्। बोर्डले २०७९ चैत्र १५ गतेबाट यस्तो सेवा दिन सुरु गरेको हो। एक वर्षमा बोर्डको श्रमाधन कल सेन्टरमा एक लाख ११ हजार ७१६ वटा कल आएको र ४३ हजार ६७९ वटा कलमार्फत आएका समस्या समाधान गरिएको जनाइएको छ।
श्रमाधान कल सेन्टर २०७५ चैतबाट सञ्चालनमा रहेको छ। एउटै व्यक्तिले पटक–पटक ‘फलोअप’ कल गर्ने, कतिपय समस्या कलमार्फत समाधान गर्न नसकिने र कति समस्या समाधानको क्रममा हुँदा कल आएको तुलनामा समस्या समाधान भएको संख्या थेरै देखिने बोर्डले बताउँदै आएको छ।