काठमाडौं- चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो महिना साउनमा ७० हजार ४४१ जना युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार यसरी गएकाहरुमा ६० हजार ४७२ जना पुरुष र नौ हजार ९६९ जना महिला छन् ।
वैदेशिक रोजगार व्यवसायीले गत साउन २२ गतेदेखि नयाँ श्रम स्वीकृति नलिने घोषणा गरेसँगै रोजगारीमा जानेहरुको संख्यामा कमी आउने अपेक्षा गरिए पनि कुनै प्रभाव देखिएन । आफ्ना १५ बुँदे माग राख्दै व्यवसायीले श्रम स्वीकृति नलिने घोषणा गरेका थिए । त्यसको नौ दिनपछि सोमबार सरकारसँग सहमति भएपछि आन्दोलन स्थगित भएको होे ।
साउन महिनामा श्रम स्वीकृति लिएकामध्ये ४२ हजार ६९३ जनाले पहिलोपटक श्रम स्वीकृति लिएका हुन् । जसमा ३६ हजार ३३९ जना पुरुष र छ हजार ३५४ जना महिला छन् । उक्त महिनामा म्यानपावर व्यवसायीमार्फत २९ हजार ४४७ जनाले श्रम स्वीकृति लिएको तथ्यांक छ । जसमा २६ हजार २९७ जना पुरुष र तीन हजार १५० जना महिला छन् ।
उनमा १२ हजार ४४२ जना व्यक्तिगत श्रम स्वीकृतिमा गएका छन् । यसरी जानेमा नौ हजार ३४६ जना पुरुष र तीन हजार ९६ जना महिला छन् । उक्त एक महिनामा २४ हजार १३३ जना पुरुष र तीन हजार ६१५ जना महिला गरी कूल २७ हजार ७४८ जना श्रम स्वीकृति नवीकरण गरेर रोजगारीमा गएका छन् । साथै, जिटुजीमार्फत जम्मा ७१२ जना दक्षिण कोरिया र इजरायल गएको तथ्यांक छ ।
विभागका अनुसार सो अवधिमा रोजगारीको खोजीमा युवाहरु ११४ वटा मुलुक गएका छन् । जसमध्ये संयुक्त अरब इमिरेट्स (युएई) नेपालीहरुको पहिलो रोजाइको गन्तव्य बनेको छ । १५ हजार ३१८ जना पुरुष र तीन हजार ४६६ जना महिला गरी कूल १८ हजार ७८४ जना युएई गएका छन् । त्यसपछि १२ हजार ४९८ जना मलेसिया गएका छन्, जसमा १२ हजार १८१ जना पुरुष र ३१७ जना महिला छन् । तेस्रो प्रमुख गन्तव्य कतारमा १० हजार ३६० जना गएका छन् । त्यस्तै, साउदी अरेबियामा आठ हजार ६१३ र कुवेतमा चार हजार ५६७ जना गएको तथ्यांक छ ।
विगतका महिनाहरु जस्तै कोशी र मधेस प्रदेशका जिल्लाबाट रोजगारीमा जानेहरुको संख्या बढी रहेको छ । साउन महिनामा धनुषाबाट तीन हजार ३६८, झापाबाट तीन हजार १४५, मोरङबाट दुई हजार ८३५, सिरहाबाट दुई हजार ६४८ र महोत्तरीबाट दुई हजार ६२९ जना गएका छन् ।
साउनमा ४० हजार ४९६ जना श्रमिक सीपयुक्त भएर रोजगारीमा गएका छन् । जसमा ३४ हजार २७८ जना पुरुष र छ हजार २१८ जना महिला छन् । यसै अवधिमा १७ हजार ९९९ जना कामदार भने कुनै सीप नसिकी विदेसिएका छन् । जसमा १५ हजार ३३४ जना पुरुष र दुई हजार ६६५ जना महिला छन् । त्यसैगरी ११ हजार ४६५ अर्धदक्ष, ३७८ प्रोफेसनल र १०३ जना उच्च दक्ष श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।
उक्त अवधिमा प्याराडाइज इन्टरनेसनल प्रालिले सबैभन्दा धेरै ४९८ जना श्रमिक रोजगारीमा पठाएको छ । एक महिनामा एक जना श्रमिक पठाउने इजाजतपत्र प्राप्त संस्था ४१ वटा रहेका छन् ।