- अत्यधिक तातोका कारण केही आप्रवासी श्रमिकको मृत्यु भएसँगै सुरक्षा चिन्ता
- मे १५ देखि अगस्ट ४ सम्म कम्तीमा १९ जनाको मृत्यु भएको तथ्यांक
- दुई हजार २५ जना गर्मीका कारण स्वास्थ्य समस्यामा रहेको रोयटर्सको रिपोर्ट
- तापक्रम ३८ डिग्री सेल्सियस पुगेमा अत्यावश्यकबाहेक बाहिरी काम रोक्न सिफारिस
काठमाडौं- दक्षिण कोरियामा अत्यधिक तातोका कारण केही आप्रवासी श्रमिकको मृत्यु भएसँगै सुरक्षा चिन्ता बढेको छ । विशेषगरी बाहिर काम गर्नेहरु लामो समयसम्म घाममा काम गर्नु, ‘ब्रेक’ लिन गाह्रो हुनु र भाषासम्बन्धी समस्याका कारण बढी जोखिममा पर्ने हेराल्ड इनसाइटले जनाएको छ ।
यस वर्ष कोरियाले असामान्य उच्च तापक्रमको सामना गरेको जनाइएको छ । जसमा दक्षिण ग्योनसाङ प्रान्तको याङसान भन्ने स्थानमा गत अगस्ट ३ मा मापन गरिएको ४२.५ डिग्री सेल्सियस तापक्रम १२२ वर्षयताकै उच्च भएको उल्लेख गरिएको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीको तथ्यांकअनुसार मे १५ देखि अगस्ट ४ सम्म कम्तीमा १९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी दुई हजार २५ जना गर्मीका कारण स्वास्थ्य समस्यामा रहेको रोयटर्सको रिपोर्टमा भनिएको छ ।
समाचारका अनुसार कृषि र निर्माण कार्यमा संलग्न कामदारका लागि गर्मी खतरनाक बन्दै गएको छ । त्यस्तै, कार्यस्थलको प्रकृतिअनुसार कतिपय श्रमिकले आफ्नो काम र विश्रामको समय आफैं निर्धारण गर्न नसक्ने अवस्थामा रहेको पनि जनाइएको छ । गत जुलाईमा नेपाल, भियतनाम र थाइल्याण्डका चार श्रमिकले अत्यधिक गर्मीमा काम गरेपछि ज्यान गुमाएको जनाइएको छ । उच्च तापक्रमले श्रमिकहरुको मृत्यु हुन थालेपछि कोरिया सरकारले सुरक्षा सावधानी बढाएको छ । साथै, कार्यस्थल नियममा पनि कडाइ गरेको छ । कोरियामा गर्मीका कारण हुने श्रमिकको स्वास्थ्य जोखिम नियन्त्रणका लागि केही व्यवस्था कानुनीरूपमै लागू भइसकेका छन् । जुलाई २०२५ देखि लागू भएको व्यावसायिक सुरक्षा नियमअनुसार महसुस हुने तापक्रम ३३ डिग्री सेल्सियस वा त्यो भन्दा बढी पुगे काम गर्ने श्रमिकलाई सामान्यतया प्रत्येक दुई घण्टामा कम्तीमा २० मिनेट आराम गराउनुपर्ने व्यवस्था छ ।

सरकारले अत्यधिक गर्मीमा बाहिरी काम व्यवस्थापन गर्न चरणबद्ध सुझावसमेत जारी गरेको माइग्रेन्ट टाइम्सले जनाएको छ । जसमा तापक्रम ३३ डिग्री सेल्सियस पुगेमा काम गर्ने समय परिवर्तन गर्ने वा बाहिरी कामको अवधि घटाउने रहेको छ । तापक्रम ३५ डिग्री सेल्सियस पुगेमा दिउँसो २ बजेदेखि ५ बजेसम्म बाहिरी काम रोक्न श्रम मन्त्रालयले सिफारिस गरेको छ । तापक्रम ३८ डिग्री सेल्सियस पुगेमा अत्यावश्यकबाहेक बाहिरी काम रोक्न थप कडा सिफारिस गरिएको छ । कोरियामा नेपालसहित विभिन्न देशबाट ठूलो संख्यामा विदेशी श्रमिक कृषि क्षेत्रमा जाने गरेका छन् । विशेषगरी फलफूल, तरकारी, पशुपालन तथा अन्य कृषि कार्यमा विदेशी श्रमिकको माग छ । गर्मीका समयमा खुला खेतबारीमा लामो समय काम गर्दा उनीहरु उच्च तापक्रम, ‘डिहाइड्रेसन’ र ‘हिट स्ट्रेस’को जोखिममा पर्छन् ।
गर्मीजन्य जोखिम व्यवस्थापनमा विदेशी श्रमिकलाई भाषाको समस्या पनि पर्न सक्ने भन्दै कोरियाले १८ भाषामा सूचना सामग्री वितरण गर्न थालेको उल्लेख गरिएको छ । यसैबीच त्यहाँको श्रम मन्त्रालयले गर्मीबाट श्रमिकलाई जोगाउन देशव्यापी निरीक्षण तथा अनुगमन अभियानसमेत सञ्चालन गरिरहेको छ । अगस्ट ३ देखि १४ सम्म गर्मीको उच्च जोखिम भएका एक हजार कार्यस्थलमा केन्द्रित निरीक्षण गरिएको मन्त्रालयले जनाएको छ । निर्माण, जहाज निर्माण, ढुवानी, उत्पादनलगायत गर्मी र सीमित हावा आवतजावत भएका स्थानमा हुने कामलाई निरीक्षणको प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ । गर्मीसम्बन्धी चेतावनी जारी रहँदासम्म केन्द्रीय सरकार र स्थानीय तहको संयुक्त अनुगमन गरिने जनाइएको छ । श्रम मन्त्रालयको विशेष गर्मी सुरक्षा निरीक्षण तथा निगरानी अभियान सेप्टेम्बर ३० सम्म सञ्चालन हुने तय गरिएको छ ।