जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था संसद्मा पुग्ने जनप्रतिनिधिहरूबाट समाजले केवल कानुन निर्माणकोमात्र अपेक्षा गर्दैन, बल्कि उच्च नैतिक आचरण, संयमित अभिव्यक्ति, शालीन व्यवहार र लोकतान्त्रिक संस्कारको पनि अपेक्षा गर्दछ । ‘माननीय’ सम्बोधन आफैंमा एउटा विशिष्ट मर्यादा र नागरिकप्रतिको उत्तरदायित्वको प्रतीक हो । तर, पछिल्ला दिनहरूमा हाम्रा माननीयहरूको सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जालमा प्रस्तुत हुने अशोभनीय शैली र सार्वजनिक कार्यक्रमहरूमा देखिने व्यवहारले पदीय गरिमा र संसद्को मर्यादालाई नै लज्जित तुल्याउँदै लगेको छ ।
यसको पछिल्लो र निकै निराशाजनक कडी बनेको छ- जापान भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारबीचको सार्वजनिक विवाद । विदेशी भूमिमा आयोजना गरिएको नेपाली समुदायको कार्यक्रममा पुगेका दुई युवा सांसदहरूले प्रवासी नेपालीका वास्तविक समस्या र नेपाल-जापान सम्बन्धका आयाममा केन्द्रित हुनुको साटो मञ्चमै व्यक्तिगत हिलो छ्यापाछ्यापमा समय खर्चिए । मञ्चबाट सुरु भएको यो तिक्तता सामाजिक सञ्जालको ‘फेसबुक लाइभ’ र अमर्यादित स्टाटसहरूसम्म पुग्यो, जहाँ गालीगलौज र व्यक्तिगत आक्षेपका सबै सीमाहरू भत्काइए । भिडियोमा ‘बिप’ राखेरमात्र बजाउन मिल्ने शब्दहरू संसद्का जिम्मेवार नेताको मुखबाट निस्कनु र अर्का सांसदले पनि उत्तिकै तल्लोस्तरमा ओर्लेर कवितात्मक शैलीमा जाँड-रक्सीको प्रसंग जोड्दै प्रतिवाद गर्नु अत्यन्तै खेदजनक विषय हो ।
यो कुनै एउटा एक्लो वा अपवादात्मक घटना होइन, बरु नेपाली राजनीतिमा झांगिँदै गएको अराजक प्रवृत्तिको एउटा प्रतिनिधिमूलक कुरुप चित्रमात्र हो । केही समयअघि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले पूर्वप्रशासकलाई ‘ढेंडुमुखे’ भन्दै सार्वजनिकरूपमा गरेको अपमान होस् वा संसद् बैठकभित्रै सभामुखको आसनतिर उफ्रिन खोज्ने सांसदहरूको अमर्यादित हर्कत- यी सबैले हाम्रा जनप्रतिनिधिहरूको नैतिक धरातल कति खस्कँदै गएको छ भन्ने कुरा प्रस्ट पार्छन् । संसद् र सार्वजनिक मञ्चहरूमा असंसदीय र उग्र भाषाको प्रयोग गर्नु अचेल सामान्यजस्तै बनिसकेको छ ।

सांसदहरूको बोली र व्यवहार व्यक्तिगतमात्र हुँदैन, त्यसले संसद् र सिंगो राज्यकै प्रतिष्ठाको प्रतिनिधित्व गर्छ । विडम्बना, दलहरूले आफ्ना सांसदहरूलाई संसद् र सार्वजनिक क्षेत्रमा कसरी प्रस्तुत हुने भन्ने विषयमा न्यूनतम अनुशासन पनि सिकाउन सकेका छैनन् । संसद् सचिवालय वा दलहरूले बेलाबेला दिने संसदीय मामिलाका प्रशिक्षणहरू केवल औपचारिकतामामात्र सीमित भएका छन्, जसको प्रभाव व्यवहारमा शून्य देखिन्छ । सामाजिक सञ्जालमा क्षणिक ‘भाइरल’ हुने र सस्तो लोकप्रियता कमाउने होडबाजीले सांसदहरूलाई दूरगामी रूपमा विवेकहीन र गैरजिम्मेवार बनाउँदै लगेको छ ।
राजनीतिक विचार र दर्शनमा मतभेद हुनु लोकतन्त्रको सुन्दरता हो, तर मतभेद प्रकट गर्ने नाममा अश्लीलता, गालीगलौज र उदण्डता प्रदर्शन गर्नु लोकतान्त्रिक संस्कार कदापि हुन सक्दैन । यदि माननीयहरूको व्यवहार यसरी नै स्खलित हुँदै जाने हो भने व्यवस्था र लोकतान्त्रिक प्रणालीमाथि नै जनताको भरोसा टुट्न सक्छ । तसर्थ, सम्बन्धित राजनीतिक दलहरूले आफ्ना सांसदहरूको यस्ता अमर्यादित र उच्छृंखल व्यवहारमाथि तत्काल लगाम लगाउनुपर्छ र आन्तरिक कारबाहीको दायरामा ल्याउनुपर्छ । सांसद स्वयंले पनि आफ्नो पदीय मर्यादा बुझ्न जरुरी छ ।