नेकपा एमाले कुनै बेला केपी शर्मा ओलीकै कारण शक्तिशाली पार्टी बनेको थियो। कम्युनिस्टहरुको एकीकरण गरेर पहिलो शक्ति बनाउन भन्दै तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालले पनि ओलीलाई साथ दिएका थिए। २०७४ को आमनिर्वाचनपछि राजनीतिमा ओलीको उचाइ यति बढेको थियो कि उनको डमीसँग मानिसहरु सेल्फी खिचाउनसमेत निकै मन पराउँथे।
शक्तिको उन्मादमा ओलीले त्यतिबेला प्रतिनिधिसभा विघटन गरे। संवैधानिक परिषद्मा मनपरी गर्न थाले। जसले गर्दा ओली एकाएक तानाशाहीको रुपमा चिनिन थाले। ओलीको यो खस्कँदो रुप २०७९ को निर्वाचनमा पनि देखियो। माओवादी केन्द्रबाट धोका खाएको नेपाली कांग्रेसले ओलीको साथ खोजे। यहीअनुसार ओलीको नेतृत्वमा कांग्रेससहितको बलियो सरकार बन्यो।
यही क्रममा ओलीमा यस्तै उन्माद चढ्दै गयो। ओलीले कसैको कुरा टेरपुच्छर लगाएनन्। पार्टीमा नेतृत्व परिवर्तनको आवाजलाई ओलीले दबाए। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको मनपरीतन्त्र रोक्न पार्टीमा ‘कमब्याक’ गर्न खोजे। तर ओलीले भण्डारीको कारण आफ्नो पद नै धरापमा पर्ने देखे। त्यसपछि अनेक तिकडम् गरेर भण्डारीलाई एमालेमा भित्रनै दिएनन्।
पछि जेन-जी विद्रोह भयो। ओली नेतृत्वको सरकार ढल्यो। पार्टीहरुमा युवा नेतृत्व खोजी गरियो। तर ओलीले मंसिरको अन्त्यतिर महाधिवेशन गराएर आफैं तेस्रोपटक अध्यक्ष बने। अध्यक्ष बनेको केही समयसम्म ठिकठाकै थियो। जब फागुन २१ गते निर्वाचन भयो। एमालेले १६५ सिटमध्ये नौ सिटमा जित्दा अध्यक्ष ओली नै पराजित भए। २७५ सदस्यीय प्रतिनिधिसभामा एमाले २५ सिटमा सीमित बन्नुपर्यो।
जसकारण ओलीविरुद्ध आफ्नै पक्षका नेताहरु विष्णुप्रसाद पौडेल, शंकर पोखरेलले विरोध जनाउन थाले। नेतृत्व छाड्न दबाब दिन थाले। यही मौका पारेर ओलीले ‘विद्या कार्ड’ फालेका छन्। कुनै बेला विद्यालाई राजनीतिमा ल्याउनुपर्छ भनेर लागेका पौडेल र पोखरेललाई माथ खुवाउनेगरी ओलीले केन्द्रीय कमिटीबाट एउटा अचम्मको निर्णय गराएका छन्। त्यो भनेको विद्यालाई वरिष्ठ नेतामा मनोनीत गर्नु हो। एक वर्षअघि मात्र राजनीतिमा आउन अनेक प्रयास गरेकी विद्यालाई ओलीले पूर्वराष्ट्रपति भएको व्यक्ति एमालेमा आउन नहुने भन्दै रोकेका थिए। त्यतिबेला ओलीको पद दाउमा परेको थियो। त्यही भएर ओलीले त्यतिबेला विद्यालाई प्रवेश दिएनन्।
अहिले भने ओलीको पद अरुको कारण दाउमा परेको छ। यही बेला आफ्नो पद जोगाउन ओलीले विद्यालाई एमालेको वरिष्ठ नेतामा मनोनीत गरेका छन्। युग सुहाउँदो नयाँ नेता खोज्नुपर्नेमा ओलीले आफू झनै तानाशाही बन्ने बाटो रोजेको यो मनोनयनले देखाउँछ। यो ओलीको मनपरीतन्त्रको अर्को विद्रुप रुप हो। एमाले सच्चिने हो भने ओलीको मनपरीतन्त्र आजै रोक्नु एमालेजनको जिम्मेवारी हो। सक्किने हो भने त रामराम !