झण्डै दुईतिहाइको सरकार सुशासन र स्थिरताका लागि हो। पटक-पटक गठबन्धनको सरकारबाट वाक्क भएका जनताले फागुन २१ गते नयाँ दलका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भर गरेर दुईतिहाइ नजिकको मत दिएको थियो। यसको मूल कारण थियो पुराना दलको मनपरीतन्त्र र जुनसुकै काममा ढिलासुस्ती।
गठबन्धन दलमा दलका नेताहरुलाई मनाउन मुस्किल हुन्थ्यो। सत्ता त्यही कारण केही समयमै ढल्थ्यो। यही कारण हो जनताले जेन–जी विद्रोह छेडेका। त्यही विद्रोहको जगमा हो रास्वपा नेतृत्वमा सरकार बनेको। तर यो सरकार अहिले न त जनताप्रति जवाफदेही छ, न त सदनप्रति। प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल रास्वपाको शासन अहिले सनकको भरमा चल्न थालेको छ। व्यवसायीलाई थुन्ने, पत्रकारलाई थुन्ने, सञ्चार क्षेत्रलाई त्रास फैलाउनेगरी सञ्चार गृह अगाडि गाडी रोक्नेदेखि प्रधानन्यायाधीशलाई घुस सेटिङसम्मका विषय छताछुल्ल भएका छन्।
यतिमात्र हैन, सर्वसाधारण यौन प्रकरणमा मुछिँदा तुरुन्तै पक्राउ पर्ने तर रास्वपा सांसदसँग सम्बन्धित अडियो प्रकरण बाहिरिँदासमेत मौन छ। सरकारी नियुक्तिहरुमा रास्वपाले पुराना दललाई माथ खुवाएको छ। यसरी नै सुकुमबासीलाई उठाएर तितरवितर बनाए पनि दीर्घकालीन समाधान दिन सकेको छैन। रास्वपा सभापति रवि लामिछाने आफैं सहकारी प्रकरणमा मुछिएर आएका हुन्। सहकारी प्रकरणका कारण अहिले बैंकिङ क्षेत्र निकै संकटमा पुगेको छ।
भ्रष्टाचारविरोधी शासनको मुद्दामा जनताले पत्याएको सरकारको ठाउँठाउँमा सेटिङ देखिएको छ। बिचौलियाहरु देखिन थालेका छन्। यो बीचमा जनताले प्रतिवाद गर्दा प्रधानमन्त्री शाह र उनका राजनीतिक सल्लाहकार कुमार बेनले पालैपालो सामाजिक सञ्जालमा यसमाथि व्यंग्य गरिरहेका छन्। बेनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत पक्राउ पर्ने पत्रकारको सूचीबारे व्यंग्य गरेका थिए। यता प्रधानमन्त्री शाहले ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै स्टाटस लेखे।
प्रधानमन्त्रीले नीति बनाउन सहजीकरण गर्ने हो, देशको परिस्थिति सम्हाल्ने शक्ति खोज्ने हो। तर सनकको भरमा शासन चलाउन खोजेर नेतृत्व सामाजिक सञ्जालमा लाइक, कमेन्ट र सेयर खोजिरहेको छ। सर्वोच्च अदालतमा घुस प्रकरणलाई विषयान्तर गर्न प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लुडो खेल र ‘कलब्रेक’ खेलकोसमेत चर्चा चलाए। गल्ती गर्ने तर उम्कने यो प्रवृत्ति पक्कै राम्रो हैन। यो पुरानो राजनीतिक दलको प्रवृत्ति हो। यस्तै गरिरहने हो भने यो सत्तामाथि ‘जुन जोगी आए पनि कान चिरेकै’ उखान चरितार्थ गराउन प्रयत्नशील भन्ने पुष्टि हुन्छ। सनकको भरमा शासन गर्ने यस्तो प्रवृत्ति तुरुन्त बन्द गर।